• १ फागुन २०८२, शुक्रबार

पीसीएल : लुम्बिनी र मेधशलाई सफलता

blog

लुम्बिनी टोली ।

काठमाडौँ, फागुन १ गते । प्याब्सन लुम्बिनी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शुक्रबार सफलता हासिल गरेका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन कोशीलाई चार विकेटले हरायो । 

टस जितेर ब्याटिङ रोजेको प्याब्सन कोशीले निर्धारित २० ओभरको खेलमा पूरै ओभर खेल्दै अलआउट हुनुअघि एक सय ४९ रन बनाएको थियो । 

कोशीका दुई खेलाडीले अर्धशतक पूरा गर्ने क्रममा उत्तम राजवंशीले ५६ तथा प्रज्ज्वल अधिकारीले ५१ रन जोड्नुभयो । अकाश यादवले १७ रन बनाउनुभयो । बलिङतर्फ लुम्बिनीका हिमाल देवकोटा र बासुदेव यादवले समान दुई दुई तथा सरिक अलीले एक विकेट लिनुभयो । 

लुम्बिनीले१९.१ ओभरमा ६ विकेट क्षतिमा एक सय ५३ रन बनायो । लुम्बिनीका अमितकुमार यादवले ४६, समिरजंग ठकुरीले ३५ र ‘म्यान अफ दि म्याच’ बासुदेव यादवले ३१ रन बनाउनुभयो । 

कोशीका मोहम्मद आयान आलमले दुई तथा आकाश यादव र दिवस विष्टले एक एक विकेट लिनुभयो । प्याब्सन काठमाडौँद्वारा आयोजित प्रतियोगितामा मधेशले प्याब्सन कर्णालीलाई १० विकेटले सहजै हरायो । मधेशको यो लगातार दोस्रो जित हो । 

पहिले ब्याटिङ गरेको कर्णाली १०.५ ओभरमा अलआउट हुँदै २३ रनमा खुम्चियो । कर्णालीका विपिन शाहीले आठ तथा कुशल रोकायाले दुई रन बनाउनुभयो ।  बलिङमा मधेशका ‘म्यान अफ दि म्याच’ खिलराज सर्राफले पात, दिलराज यादवले दुई तथा अफ्ताब मिया र समिर देवानले समान एक एक विकेट लिनुभयो । 

जवाफी ब्याटिङमा मधेशले कुनै विकेट नगुमाइ केवल १.२ ओभरमा लक्ष्य पूरा गरेको छ । जसमा  निखिल मण्डलले १६ तथा मौसम अन्सारीले दुई रन बनाउनुभयो । शनिबार लुम्बिनीले आयोजक प्याब्सन काठमाडौँ तथा कर्णालीले बागमतीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।