• १ फागुन २०८२, शुक्रबार

नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

सर्लाही, फागुन २ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउनुहुन्छ । 

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्वसहित आएकाले यो नै नयाँ पार्टी भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे, "यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।"

देशको भविष्य युवाहरूको काँधमा रहेको चर्चा गर्दै उहाँले युवाहरूको उत्साहपूर्ण उपस्थितिले आफूलाई खुसी तुल्याएको बताउनुभयाे । उहाँ भन्नुहुन्छ, "सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् ? तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेन–जी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।"

सभापति थापाले मधेसको जग बलियो बनाउन शिक्षा, स्वास्थ्य र सिँचाइ अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि युवाहरूले मतदानमार्फत कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयाे । उहाँका अनुसार सर्लाहीसहित मधेसका जिल्लामा रहेका समस्या समाधानका लागि युवाहरूले प्रत्येक परिवारलाई कांग्रेसको एजेन्डा बुझाउनु आवश्यक छ ।

उहाँले सर्लाहीका विशिष्ट माग र समस्यालाई कांग्रेसको आगामी संकल्पपत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यसै विषयमा छलफल गर्न आफू आजै काठमाडौँ फर्कन लागेको र चाँडै फेरि मधेस आउने उहाँको भनाइ छ ।

कांग्रेससँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले देशको नेतृत्वका लागि अवसर दिन उहाँ मतदातासँग आग्रह गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, "देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर 'प्रोजेक्ट गभर्मेन्ट' तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ ।"