नवीनराज कुइँकेल
लमजुङ, फागुन १ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताउनुभएको छ ।
लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको विकास गरेर पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारीको ब्यवस्था गर्ने बताउनुभयो ।
यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको ब्यवस्था गर्ने उहाँले बताउनुभयो ।
यसैगरी सबै सरकारी कार्यालय र वडाहरुमा सूचना प्रविधिको विकास गरी सेवा दिने ब्यवस्था मिलाउने योजना आफुँसँग रहेको उहाँले बताउनुभयो । कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उहाँले बताउनुभयो । जिल्लामा रहेका होमस्टे गाउँहरुलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफुँ लागिपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तेह्र महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दैछु । जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ ।”
यसपटक सबै राजनीतिक दलहरु एकल प्रतिस्पर्धामा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “२०७९ को निर्वाचनमा पनि एमालेमाथि घेराबन्दी थियो । पाँच दलीय गठबन्धन थियो, मेरो जीत भयो । मैले कुनै भ्रष्टाचार, अनियमता गरेको छैन, यस पटक मैले हार्नुपर्ने कुनै कारण छैन ।”
नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरु पूरा गर्न आफुँ र आफ्नो पार्टीको जीत अनिवार्य भएको बताउनुभयो । २०७९ को प्रनिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएका गुरुङले यसपटक कांग्रेस, माओवादी र रास्वपाका उम्मेदवारसँग सामना गर्नुपर्ने छ ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिस्पर्धी देवप्रसाद गुरुङले ३१ हजार ७८९ मत पाउनुभएको थियो । सो निर्वाचनमा रास्वपाका उम्मेदवार धर्म केसीले ९ हजार २९ मत पाउनुभएको थियो ।