सन्तोष दहित
दाङ, फागुन १ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनको साथ पालना आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार दाङको भालुबाङमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजद्वारा संयुक्त रूपमा आयोजित “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न हुनेभएकाले त्यसको लागि आचारसंहिताको अक्षरशः पालना अनिवार्य भएको बताउनुभयो ।
लोकतन्त्रलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने आधार नै निर्वाचन आचारसंहिता भएको निर्वाचन आयुक्त डा. तुलाधरले बताउनुभयो । निर्वाचन केवल मतदानको प्रक्रिया मात्र नभई लोकतन्त्रको आत्मा भएको बताउँदै निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।
“मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नु र निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्नु हो, उहाँले भन्नुभयो, “आचारसंहिता सबैका लागि समान हुने भएकाले राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम र सरोकारवाला सबै यसको पालक हुनुहुन्छ ।” उहाँले राज्य स्रोतको दुरुपयोग रोक्नु, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड निर्वाचन भएकाले यसलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । आचारसंहिता केवल नैतिक बन्धनको दस्तावेज नभई लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता र सुशासनप्रतिको साझा प्रतिबद्धताको प्रतिबिम्ब भएको उहाँको जोड छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता २०८२ माघ ४ गते राति १२ बजेदेखि लागू भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचार–प्रसार सुनिश्चित गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सम्मान र संरक्षण गर्ने विषयलाई विशेष महत्व दिइएको थियो । डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बन्दै गएको भन्दै भ्रामक सूचना, हेट स्पिच, झुटा समाचार र अवैध मत सर्वेक्षणले मतदाताको निर्णय प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भन्दै सबै सरोकारवालाबाट उच्च सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ ।
निर्वाचन खर्चमा पारदर्शिता अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले बैंकमार्फत खर्च व्यवस्थापन, खर्च विवरण सार्वजनिक गर्ने र स्रोत नखुलेको आर्थिक सहयोग रोक्ने व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्ने बताउनुभयो । राजनीतिक दल र उम्मेदवारले मर्यादित प्रचारप्रसार गर्ने, खर्च सीमा पालना गर्ने र भ्रामक वा उत्तेजक अभिव्यक्ति प्रयोग नगर्ने विषयमा ध्यान दिनुपर्ने सुझाव आएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले सूक्ष्म ढंगले अनुगमन गर्नुपर्ने र आचारसंहिता विपरीत गतिविधि रोक्न कठोर बन्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिति समेत रहनुभएको मन्त्री ढकालले दलहरू चुनावी दौडमा रहेकाले आयोगले तोकेको समयअगाडि भइरहेका गतिविधि आचारसंहिताले छुन्छ कि छुँदैन भन्ने विषयमा सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले निर्वाचनलाई सफल बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य भएको बताउनुभयो । नागरिक संवाद केन्द्रकी प्रमुख हेमा न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना, निर्वाचन आयोगका सहसचिव ज्ञानहरी घिमिरेलगायतले आफ्नो धारणा राख्नुभएकोथियो ।
कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले गर्नुभएको थियो । कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवाला पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता गर्नुभयो ।