अविनाश चौधरी
धनगढी, फागुन १ गते । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो । यहाँ १२६ वटा वडा कार्यालयहरु रहेका छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक खट्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ । छनोट भएका स्वमय् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ । उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुकासाथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने सूचना अधिकारी चौधरीले बताउनुभयो ।
मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ । फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।