• १ फागुन २०८२, शुक्रबार

बाघको आक्रमण प्रयास, ज्यान जोगाउन साढे दुई घण्टा रुखमा

blog

बाघको आक्रमणबाट बच्न रुख चढेका नारायण खत्रीको स्थानियद्वारा उद्धार । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, फागुन १ गते ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर, ३ बडाचौर जङ्गल नजिक एक व्यक्तिमाथि बाघले आक्रमण गर्ने प्रयास गरेको छ । बाघको आक्रमणबाट ज्यान जोगाउन सल्लाको रुखमा चढेका स्थानीय नारायण खत्रीलाई करिब साढे दुई घणपछि स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको हो ।

छत्रेश्वरी, ३ कोर्वाङ निवासी खत्री दाङबाट त्रिवेणीको सिम्क क्षेत्र हुँदै पैदल आफ्नै घरतर्फ फर्किंदै हुनुहुन्थ्यो । बिहीबार बिहान करिब ११ः५४ बजे उहाँले घरमा फोन गरेर आफूलाई बाघले आक्रमण गर्न खोजेको र रुखमा चढेर जोगिएको जानकारी गराउनुभएको थियो ।

खत्रीका अनुसार सुरुमा जङ्गलतर्फबाट बाघ कराएको आवाज सुनिएको थियो । केहीबेरपछि नजिकै बाघ देखिएपछि आफूले ढुङ्गाले हान्न खोज्दा बाघ आक्रामक बनेको र आक्रमण गर्न खोजेपछि तत्कालै नजिकैको सल्लाको रुखमा चढेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो ।

घरपरिवारबाट खबर पाएलगत्तै स्थानीय बासिन्दा घटनास्थलतर्फ पुगेका थिए । खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा स्थानीय बासिन्दा केशव केसीका अनुसार १०–१५ जनाको टोली जङ्गलमा पुग्दा खत्री त्रसित अवस्थामा रुखमै हुनुहुन्थ्यो । “हामीले ठुलो स्वरमा होहल्ला गर्‍यौं, बाघ पनि देख्यौं, ढुङ्गाले हानेर बाघलाई धपायौं । त्यसपछि मात्रै नारायण खत्री सुरक्षित रूपमा रुखबाट तल झर्नुभयो,” केसीले भन्नुभयो । उद्धारपछि खत्री सामान्य अवस्थामा घर फर्किएको जनाइएको छ ।

स्थानीयले पछिल्लो समय जङ्गल आसपास वन्यजन्तुको गतिविधि बढ्दै गएको बताएका छन् । केही समयअघि मात्रै सल्यानको कालीमाटी गाउँपालिकाको घुइयाबारी क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको थियो भने किसानका पशुचौपायामा समेत क्षति पुगेको थियो ।

सल्यानमा वन क्षेत्रहरूमा बाघ तथा अन्य जङ्गली जनावरसँग सम्बन्धित मानव वन्यजन्तु संघर्षको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । विशेष गरेर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्र कालीमाटीमा बाघको त्रास बढेकोमा जिल्लाको छत्रेश्वरी गाउँपालिकामा पनि समस्या देखिएको हो । बर्सेनि बाघको गतिविधि बढ्दै गएको कारणले स्थानीय समुदायमा डर र असुरक्षा फैलिएको छ ।

नेपालमा बाघ संरक्षण प्रयासको सफलताले देशभर बाघको सङ्ख्या वृद्धि भएता पनि यसैकारण धेरै स्थानमा वन्यजन्तु र मानिसबिच द्वन्द्व बढेको देखिन्छ । कालीमाटी क्षेत्रका स्थानियहरुले त झन निर्वाचनमा उम्मेदवारसँग र सरकारसँग बाघको समस्या समाधान र निकुञ्ज खारेजिको मुख्य माग राखिरहेका छन् ।