दोलखा समाचारदाता
दोलखा, फागुन १ गते । यसअघि र अहिले हुन गइरहेको निर्वाचनको मतदाता शिक्षा नपाएका दोलखाको उत्तरी दूरदराजका मतदाताले चुनावका बारेमा खासै चासो लिएका छैनन् । चुनावकै बारेमा अनभिज्ञ रहेका उनीहरूले मतदाता शिक्षा नै नपाएपछि चुनावप्रति खासै चासो नरहेको बिगु गाउँपालिका–१, लुमनाङका ६८ वर्षीय काञ्चोक शेर्पाको गुनासो रहेको छ ।
उहाँका अनुसार लुमनाङमा अहिलेसम्म भएका कुनै पनि चुनावमा दल र सरकारबाट मतदाता शिक्षा दिएकै छैन । सडक नपुगेको यो गाउँ दुर्गम जस्तै छ । उहाँले भन्नुभयो, “विकासको पूर्वाधार मानिने सडक नै नभएपछि बिजुली, इन्टरनेटको त कल्पनासमेत गर्न सकिँदैन । हामी त कुन देशका हौँ भन्ने लाग्छ कहिलेकाहीँ त । चुनावको मत लिनबाहेक सरकारको उपस्थिति नै हुँदैन । दलहरू त भोट माग्नसमेत आउँदैनन् ।”
सम्पर्कविहीन भइएकाले जेनतेन भोट हालेपछि कसले जित्यो भन्नेसमेत थाहा पाउँदैनौँ । अर्का नावाङ दोर्जे शेर्पाले भन्नुभयो, “उनीहरू विकास माग्छन् भनेर भोट माग्न नआएका होलान् । अरू सेवा त परै जावस् लुमनाङसम्म जाने पैदल बाटो पनि सजिलो छैन । लामाबगरबाट दुई दिन पैदल हिँडेर जानुपर्ने भएकाले अहिलेसम्म भएका कुनै पनि चुनावमा पार्टी पुगेका छैनन् ।” सरकारले टाढा भएकाले गाउँमै मत दिने व्यवस्था गरिदिएको छ । त्यहाँ पार्टीभन्दा पनि चिनेका उम्मेदवारलाई भोट हाल्छन् ।
भोट नमागे पनि वडाबाट स्वयंसेवकहरू भने आउँछन् । मत नमागेकाले पार्टी होइन चिनेको व्यक्ति भए भोट दिइन्छ नत्र खाली नै रहन्छ । कोरोनाअघि चीनको फलाटमा आउने जाने गरिएको थियो । पैदल दुई दिन लाग्छ, लामाबगर जान पनि सहज छैन । हातमुख जोड्न धौ धौ बनेको छ । । कर्मा शेर्पाले भन्नुभयो, “साबिक लामाबगर गाविस वडा नम्बर १ रहेको लुमनाङमा ६४ वटा मत रहेका छन् । काठमाडौँमा बस्नेहरू प्रायः आउँदैनन् । यहाँ रहेका ५० जना जतिले मत दिने गर्छन् ।”
लामाबगरबाट बोकाएर लैजाँदा नुन प्रतिकिलो १५० रुपियाँ पर्छ । ३० किलोको चामल बोराको पाँच हजार पर्ने गर्छ । यहाँ अन्नबाली लगाइँदैन । चौँरीपालन गरिएकाले ढुवानीले गर्दा दानासमेत महँगो हुन थालेपछि चौँरीपालन पनि विस्थापित हुन थालेको छ । ४०/५० गोठ चौँरी हुनेमा अहिले १६ गोठ मात्र रहेका छन् । शिक्षाको प्रबन्ध नहुँदा यहाँका बच्चा एक संस्थाले काठमाडौँ लगेर निःशुल्क पढाइदिएको छ ।
यातायात पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना वरपर पनि चुनावी चहलपहल खासै छैन । स्थानीय बहादुर तामाङले भन्नुभयो, “पुराना पार्टीले खासै काम गरेनन् । जनभावना नबुझ्ने भ्रष्टाचारीलाई विस्थापित गर्नु पर्छ । अब हामीमा यो चेतना जागृत पनि हुनु पर्छ ।” अर्का नुर्बु शेर्पाले पार्टी होइन व्यक्ति हेरेर भोट दिने गरेको बताउनुभयो भने अर्की फूलमाया तामाङले भन्नुभयो, “सडक सडकमा बाजा बजाएर दिनदिनै आउने गर्छन् । हामीले पार्टी तथा उम्मेदवार को कस्तो भनेर चिन्न नै पाएका छैनौँ ? आआफ्नो विचार छ ता पनि अन्योलमा नै छौँ ।”
दुर्गम जस्तै रहेको गौरीशङ्कर गाउँपालिका–९ का बेदिङ र ना गाउँका मतदाताको पनि उस्तै गुनासो रहेको छ । स्थानीय मिङमा शेर्पाले भन्नुभयो, “हालसम्म निर्वाचनमा न सरकार, न दलबाट मतदाता शिक्षा दिएका छन् । दुई दिनको पैदल हिँडेर आउनुपर्ने भएकाले कोही पनि आउँदैनन् । मतदानका लागि मुस्किलले सरकारको उपस्थिति हुने गर्छ । आफ्नै हिसाबले मत दिन्छौँ । कसले जित्यो भन्ने पनि खासै थाहा हुँदैन ।”
विश्वमै चिनिएको च्छोरोल्पा हिमताल यहीँ भए पनि कसैलाई वास्ता नै छैन । उहाँले भन्नुभयो, “अरू देशमा यतिको महìवको स्थल हुँदो हो त स्वर्ग बनाउने थिए । विकास भए हाम्रा लागि मात्र होइन देशकै आर्थिक अवस्था मजबुत हुन्थ्यो होला । बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उडाएर लैजान्छ भन्ने उक्ति सार्थक बनेको छ ।