• १ फागुन २०८२, शुक्रबार

लमजुङमा राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

blog

जिल्ला प्रशासन कार्यालय लमजुङ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन १ गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा बिहीबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । इनरोलमेन्ट र राहदानी वितरणका लागि प्रयोग हुने दुवै कम्प्युटर बिग्रिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ । 

सेवाग्राहीको विवरण भेरिफिकेशन गर्ने कम्प्युटरमा समस्या देखिएको र राहदानी विभागबाट उक्त कम्प्युटर मर्मत भई नआएसम्म सेवा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताउनुभयो । गौतमका अनुसार राहदानी विभागले कार्यालयलाई इनरोलमेन्ट गर्ने र राहदानी इस्यु गर्ने गरी दुईवटा मात्र कम्प्युटर उपलब्ध गराएको थियो ।

उहाँले भन्नुभयो, “सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त सिस्टम अन्य कुनै कम्प्युटरमा चल्दैन । इस्यु गर्ने कम्प्युटर यसअघि नै बिग्रिएर विभागमा पठाइएको थियो । अहिले इनरोलमेन्ट गर्ने कम्प्युटर पनि बिग्रिएपछि सेवा पूर्ण रुपमा रोकिएको हो ।”

सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त आधिकारिक कम्प्युटरमार्फत मात्र सेवा दिन सकिने भएकाले वैकल्पिक व्यवस्था गर्न सम्भव नभएको कार्यालयले स्पष्ट पारेको छ । सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै राहदानी सेवा यथाशीघ्र सुचारु गराउन पहल भइरहेको प्रशासनले जनाएको छ ।

यद्यपि जिल्ला प्रशासन कार्यालय लमजुङले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा मात्रै भने एकहजार एकसय ५८ थान राहदानी विवरण दर्ता गरिसकेको छ । कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा एक हजार ९० राहदानी वितरण भएको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।