• १ फागुन २०८२, शुक्रबार

भारतद्वारा थप सवारीसाधन सहयोग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ भारत सरकारले नेपाल सरकारलाई ६५० वटा 

सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेस्रो चरणमा २२३ वटा सवारीसाधन सामग्री हस्तान्तरण गर्नुभएको हो । यसअघि पहिलो चरणमा ६२ वटा र दोस्रो चरणमा २५४ वटा सवारीसाधन काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख डा. राकेश पाण्डेले हस्तान्तरण गर्नुभएको थियो । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा भारतीय राजदूत श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई ती सवारीसाधन हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सरकारले सदैव साथ सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भारतबिचको सदीयौँदेखि विशिष्ट र असल सम्बन्ध रहँदै आएको छ । नेपालमा हुने हरेक लोकतान्त्रिक प्रक्रियामा भारत सरकार सधैँ साथ सहयोग गर्न तयार छ ।” उहाँले नेपालको आगामी निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न हुने छ भन्दै शुभकामनासमेत व्यक्त गर्नुभयो । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भारत सरकारले नेपाल सरकारलाई निरन्तर रूपमा गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।

नेपालको हरेक लोकतान्त्रिक परिवर्तन र सुखदुःखमा भारत सरकारले सधैँ नेपाललाई सहयोग र सद्भावमार्फत असल छिमेकी राष्ट्रका रूपमा सहयोग गरेको बताउँदै गृहमन्त्री अर्यालले भन्नुभयो, “नेपाल भारतबिच सदीयौँदेखिको असल सम्बन्ध विशिष्ट र ऐतिहासिक छ, यो सदैव कायम रहने छ ।”

उहाँ निर्वाचन प्रयोजनार्थ भारत सरकारले ठुलो सङ्ख्या सवारीसाधन उपलब्ध गराई शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएकोमा सम्पूर्ण नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

भारत सरकारले आगामी निर्वाचन प्रयोजनका लागि कुल ५८९ सवारीसाधन उपलब्ध गरिसकेको छ । जसमा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन पनि हस्तान्तरण गरिएको छ । भारत सरकार चौथो चरणमा थप ६१ वटा सवारीसाधन निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने छ । 

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताको अनुरोध गरेको थियो । सोही अनुरूप भारत सरकारले सहयोग उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।