• २९ माघ २०८२, बिहिबार

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

blog

समितिको बैठक ।

काठमाडौँ, माघ २९ गते । रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रमको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ ।

मन्त्रालयका सचिव केदारनाथ शर्माको अध्यक्षतामा भएको बैठकमा रक्षा मन्त्रालय र अन्तर्गत निकायबाट चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म सञ्चालन भइरहेका कार्यक्रम तथा विकास आयोजनाको हालसम्मको प्रगति स्थितिबारे अद्यावधिक जानकारी प्रस्तुत गरिएको थियो ।

चालु आवको पुस मसान्तसम्म रक्षामन्त्रालय र मातहत निकायमा विनियोजित कुल बजेटको ४५ दशमलव ८२ प्रतिशत खर्च भएको छ ।

यसैगरी चालु आवमा फर्छ्र्यौट गर्नुपर्ने कुल तीन अर्ब ६५ लाख बेरुजुमध्ये छ प्रतिशत प्रगति मात्र हासिल भएको छ । बैठकमा आयोजना कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरूबारे पनि छलफल भएको छ ।

यस अवधिमा सञ्चालित कुल आठ वटा ठूला विकास निर्माण आयोजनामध्ये नेपाली सेनालाई जिम्मेवारी प्राप्त खाँदबारी–किमाथाङ्का सडक करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र बङ्कर टु ब्यारेक कार्यक्रम गरी पाँच वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइयो ।

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना, दार्चुला टिङ्कर ९तुषारपानी–टिङ्कर० सडक आयोजना र राष्ट्रिय चुरे संरक्षण कार्यक्रम गरी तीन आयोजनामा विभिन्न कारणहरूले ८० प्रतिशतभन्दा कम प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ ।

समीक्षा अवधिमा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत सुरुबिन्दु खोकना खण्डलगायत समस्याग्रस्त क्षेत्रको समस्या समाधानका लागि विभिन्न उच्चस्तरीय अनुगमन÷निरीक्षण भई समस्या समाधानका लागि विभिन्न प्रयासहरू गरिएको जानकारी दिइयो ।

यसैगरी चालु आवको पुस मसान्तसम्म सुत्केरी २० जनासहित ३५ जनाको हवाई उद्धार गरिएको, देशका विभिन्न भागमा भएका आगलागी तथा डढेलो नियन्त्रणका लागि एक हजार ३८९ जना फौज खटिएको तथा विभिन्न जिल्लामा विविध घटनामा परेका दुई हजार ७२७ जनालाई उद्धार गरिएको जानकारी दिइयो ।

यसैगरी मुलुकका विभिन्न २५ जिल्लाका २९ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १३ हजार ८८७ जनालाई स्वास्थ्योपचार सेवा उपलब्ध गराइनुका साथै तीन सय ५२ जनालाई सर्पदंश उपचार सेवा प्रदान गरिएको व्यहोरा प्रस्तुत गरिएको थियो ।

सेनाबाट प्रकृति संरक्षण र अन्तरराष्ट्रिय शान्ति स्थापना सम्बन्धमा भए गरेका कार्यहरूबारे पनि बैठकमा जानकारी दिइयो ।मन्त्रालयका सचिव शर्माले चालु आवमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको आगामी दिनमा थप प्रगति हासिल गर्नेगरी कार्यसम्पादन गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

खासगरी राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको प्रगतिको गति बढाउन र पुँजीगत खर्चमा उल्लेख्य सुधार हुनेगरी कार्य गर्न उहाँले जोड दिनुभयो ।सचिव शर्माले सबै आयोजना प्रमुखलाई चालु आवको बाँकी अवधिमा निर्धारित लक्ष्यबमोजिमका प्रगति र ‘माइलस्टोन’ हासिल गर्नेगरी तथा बेरुजु फर्छ्यौटलाई उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिनुभयो ।

बैठकमा मन्त्रालयका योजना तथा अन्तरराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव कृष्ण पौडेलले मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आवमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको हालसम्मको प्रगति स्थिति तथा आयोजना कार्यान्वयनमा देखिएका प्रमुख समस्या तथा चुनौतीबारे  प्रस्तुतीकरण राख्नुभयो । रासस