• २९ माघ २०८२, बिहिबार

काठमाडौँ किकर्सलाई इन्डो–नेपाल फुटबल उपाधि

blog

उपाधिसहित काठमाडौँ किकर्स टोली ।

काठमाडौँ, माघ २९ गते । स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीका अवसरमा डिएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले जितेको छ ।

डिएभी विद्यालयको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा काठमाडौँ किकर्सले जावलाखेल युथ क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै उपाधि उचालेको हो । 

निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । उपाधि विजेता काठमाडौँ किकर्सले २० हजार रुपियाँ र उपविजेता जावलाखेल युथ क्लबले १० हजार रुपियाँ पुरस्कार पायो । 

त्यस्तै, तेस्रो स्थानका लागि मारियो ग्रासरुट स्पोर्ट्स क्लब र एजी–१० फुटबल एकेडेमीबिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै एजी–१० फुटबल एकेडेमी विजयी भई तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा बोलपुर टप क्लबले ‘फेयर प्ले अवार्ड’ जित्न सफल भयो ।

विधागततर्फ काठमाडौँ किकर्सका कबिर तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । एजी–१० फुटबल एकेडेमीका सिद्धान्त राय सर्वाधिक गोलकर्ता तथा जावलाखेल युथ क्लबका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर बन्नुभयो ।