काठमाडौँ, माघ २९ गते । काठमाडौँको कलङ्कीस्थित घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपियाँ लुटपाट गर्ने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा रमेश बुढा मगर र दीपक राई रहेका छन् । गत माघ १४ गते दिउँसो ८–९ जनाको समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोड, झापासँगको समन्वयमा पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूका साथबाट प्रहरीले विभिन्न कम्पनीका ६ थान मोबाइल र लुटपाटमा प्रयोग भएका दुई थान मोटरसाइकल बरामद गरेको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका रमेश बुढा मगर यसअघि खैरो हेरोइन कारोबारमा नौ वर्षभन्दा बढी केन्द्रीय कारागारमा कैद भुक्तान गरी छुटेका व्यक्ति रहेको खुल्न आएको छ । त्यस्तै, अर्का अभियुक्त दीपक राई पनि यसअघि चोरी मुद्दामा पक्राउ परी धरौटीमा छुटेका व्यक्ति हुन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।