सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ २९ गते । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको रिङरोड निर्माण निकै सुस्त बनेको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड निर्माणको भौतिक प्रगति छ वर्षको अवधिमा हालसम्म २५ प्रतिशत मात्रै रहेको सडक डिभिजन कार्यालय खुर्कोटले जनाएको छ । कार्यालयका अनुसार जिल्ला सदरमुकामको माझीटार–पानीट्याङ्की– नुनथला–मल्लागाउँ हुँदै हिरापानीसम्मको आठ किलोमिटर लम्बाइको रिङरोडको २०७६ फागुन ११ गते निर्माण सम्झौता गरी कालिका–वेदान्सी–विकास जेभीले निर्माण सुरु गरेको थियो ।
उक्त जेभीले दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी करिब १८ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता गरी काम सुरु गरेको भए पनि हालसम्म भौतिक प्रगति २५ प्रतिशत मात्रै भएको कार्यालयका इन्जिनियर गजेन्द्रप्रसाद राउत (उक्त फिल्ड हेर्ने) ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काममा निकै ढिलासुस्ती भएपछि उक्त जेभीले कार्यसम्पादनका लागि राखेको बैङ्क ग्यारेन्टी एक करोड ६७ लाख ८५ हजार रुपियाँसमेत कार्यालयले भर्खरै तानेको छ ।”
सम्झौताबमोजिम काम नसकिएपछि दुई पटक म्याद थप गरिएको र पछिल्लो म्याद २०८३ वैशाख ११ गतेसम्म रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कार्यमा पटक पटक लिखित तथा मौखिक रूपमा ताकिता गर्दा पनि निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगरेपछि गत पुस ६ गते ठेक्का किन नतोड्ने भनी सूचना निकालेर सचेत गराइएको छ । सो रिङरोडको प्राविधिक स्टिमेन्ट अनुसार सुरुमा लागत करिब ४५ करोड रहे पनि कालिका–वेदान्सी–विकास जेभी निर्माण कम्पनीले करिब १८ करोड रुपियाँको लागतमा निर्माण गर्ने ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । दुई लेनमा निर्माण हुने रिङरोडको चौडाइ साढे सात मिटर हुने छ । त्यसमा कालोपत्रे भने साढे पाँच मिटरको रहने कार्यालयले जनाएको छ ।
रिङरोड निर्माणको गति हेर्दा कहिले निर्माण पूरा हुने टुङ्गो नभएको कमलामाई नगरपालिका–४, मल्लागाउँ निवासी बलराम अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुमा काम सुरु गर्दा स्थानीय सबै उत्साहित थिए । छ वर्ष बितिसक्यो, काम केही देखिँदैन । अब त रिङरोड बन्छ जस्तो पनि लाग्दैन ।” मल्लागाउँ क्षेत्रमा विभिन्न ठाउँमा लगाएको टेवा पर्खाल एक वर्षदेखि अलपत्र रहेको उहाँको गुनासो छ । उक्त रिङरोडले कमलामाई नगरपालिकाको वडा नं. ४, ६ र ७ को भित्री बस्तीलाई समेट्ने स्थानीयले बताएका छन् । माझीटार–चकमके सडक अन्तर्गत माझीटारबाट निर्माण सुरु गरिएको उक्त रिङरोड हिरापानीमा आएर बिपी राजमार्गमा जोडिने छ । उक्त रिङरोड निर्माण गर्न बजेट अभाव र जग्गा विवादको समस्या पनि देखिएको मल्लागाउँ टोल विकास समितिका अध्यक्ष रेसमबहादुर पोखरेलले जानकारी दिनुभयो ।