तम्घास समाचारदाता
तम्घास (गुल्मी), माघ २९ गते । निर्वाचनको मौसम चलेका बेला उम्मेदवारलाई मतको चिन्ता छ भने मतदातालाई विकास कहिले होला र कसले विकासका काम अघि बढाइदेलान् भन्ने चिन्ता छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मत माग्न घर घरमा पुग्न थालेका छन् तर मतदाताले भने दैनिक रूपमा आवतजावत गर्ने पुल निर्माण कहिले होला भन्ने चिन्ताको विषय उठाउन थालेका छन् ।
गुल्मी क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिका–१, गुल्मी र कालीगण्डकी गाउँपालिका–७, स्याङ्जा जोड्ने पुल एक दशकदेखि जीर्ण छ । त्यसको मर्मतसम्भार गर्नेतर्फ कुनै पनि दलका उम्मेदवारको ध्यान नगएको र मत माग्न भने घरदैलोमा आउने गरेको मतदाताले गुनासो गरेका छन् । कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरका स्थानीय पुरुषोत्तम पाण्डेले आफूहरूलाई नेताभन्दा पनि दैनिक रूपमा प्रयोग भएर आवतजावत गर्ने पुलको चिन्ता भएको बताउनुभयो । उहाँले एक दशकदेखि पुल जीर्ण हुँदा पनि नयाँ पुल निर्माणका लागि कसैले वास्ता नगर्नु दुःखद भएको बताउनुभयो ।
सोही पुल भएर दैनिक रूपमा आवतजावत गर्ने सवारीचालक गगन तरामुले पनि लामो समयदेखि जीर्ण पुलबाट आवतजावत गर्नु दुःखद भएको बताउनुभयो । कालीगण्डकी नदीले पुलका पिल्लरमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र पोखरादेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले यो पुलको प्रयोग गर्दै आएका छन् ।
दैनिक रूपमा यो पुल भएर सयौँ सवारी आवतजावत गर्ने स्थानमा पनि राजनीतिक दलका नेता तथा उम्मेदवारको आँखा नपुग्नु आफूहरूका लागि विडम्बना भएको सवारीधनी र चालकले गुनासो गर्ने गरेका छन् ।
गण्डकी प्रदेश स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र लुम्बिनी प्रदेशको गुल्मीको कालीगण्डकी गाउँपालिका–१, हर्मीचौर जोड्ने रेप्कामा रहेको पुल २०५२ सालमा निर्माण गरिएको थियो । कालीगण्डकी जलविद्युत् आयोजना ‘ए’ निर्माणका क्रममा हर्मीचौर र मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल एक दशकदेखि जीर्ण बन्दै गएको छ ।
कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको पुलको ठाउँमा नयाँ पुल निर्माणका लागि स्थानीय सरकारले पहल गरे पनि केन्द्रमा पहुँच नपुगेका कारण परिणाम देखिन नसकेको बताउनुभयो । यद्यपि यस क्षेत्रबाट उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांगे्रस, नेपाली कम्युनिस्ट पार्टीलगायतका उम्मेदवारले पुल निर्माणसहित स्थानीय विकासका कामलाई प्राथमिकता दिने बताएका छन् ।