• २९ माघ २०८२, बिहिबार

सुझाव सङ्कलनमा एमाले

blog

गोरखापत्र समाचारदाता

ललितपुर, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको निर्वाचन घोषणापत्र लेखनका लागि सुझाव सङ्कलन गरिरहेको उल्लेख गरेको छ । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ । एमालेले घोषणापत्र तयार गर्न पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव लिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । कतिपय जनवर्गीय सङ्गठनले कार्यालयमा आएर र कसैले इमेलमार्फत पार्टीलाई सुझाव पठाएका उहाँले बताउनुभयो । 

“हामीले जनवर्गीय सङ्गठनलगायत क्षेत्रबाट घोषणापत्रका लागि सुझाव सङ्कलन गरिरहेका छौँ । ती सुझावका आधारमा घोषणापत्रको अन्तिम मसौदा बनाउँदै छौँ,” उहाँले भन्नुभयो । फागुन पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक गरिने सचिव डा. अधिकारीले उल्लेख गर्नुभयो । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मसौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ ।