सुजल श्रेष्ठ
प्युठान, माघ २८ गते । प्युठानको झिमरुक गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरेको छ ।
गाउँ कार्यपालिका बैठकले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यस वर्षको नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने नीति तथा बजेटमा समावेश गरेको थियो ।
सोही नीतिअनुसार अस्थायी, करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीय सरकारको करार सेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्था नहोस् भनेर पालिकाले करारमा सेवारत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
प्युठानकै ऐरावती गाउँपालिकाले समेत अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना अघि बढाएको छ । चालु आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी पालिकाले नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो ।