लोकतन्त्रको सबैभन्दा शक्तिशाली पक्ष नागरिकको मताधिकार हो । मताधिकार केवल चुनावी प्रक्रियामा प्रयोग हुने औपचारिक अधिकार मात्र होइन । यो राज्यको नीति, नेतृत्व, प्राथमिकता र भविष्यको दिशा तय गर्ने निर्णायक शक्ति पनि हो तर व्यवहारमा हेर्दा मताधिकारको प्रयोग प्रायः विवेकभन्दा भावनाले, विश्लेषणभन्दा पहिचानले र दूरदृष्टिभन्दा तत्कालीन लाभले निर्देशित भएको देखिन्छ । यही कारण लोकतन्त्र बलियो हुनुको सट्टा कमजोर हुँदै गएको छ । त्यसैले कस्तो उम्मेदवारलाई भोट दिने ? भन्ने प्रश्न व्यक्तिगत रुचिको विषय मात्र नभएर समग्र समाज र राष्ट्रको भविष्यसँग गाँसिएको गम्भीर विषय हो ।
नेपालको राजनीतिक अभ्यासमा भोट दिने संस्कृतिमा गहिरो संरचनागत समस्या छ । धेरै मतदाता उम्मेदवारको क्षमता, विचार र आचरणभन्दा पनि जात, धर्म, क्षेत्र, पैसा, भोजभतेर, पार्टी झन्डा वा व्यक्तिगत चिनजानका आधारमा निर्णय गर्छन् । आफ्नै जातको, आफ्नै गाउँको, मेरो पार्टीको भन्ने सोचले लोकतन्त्रलाई प्रतिनिधित्व होइन्, स्वार्थको उपकरण बनाइदिएको छ । यस्तो अवस्थामा योग्य उम्मेदवार पराजित हुन्छन् र अयोग्य व्यक्ति सत्तामा पुग्छन् । परिणामस्वरूप नीति निर्माण कमजोर हुन्छ, भ्रष्टाचार संस्थागत हुन्छ र जनतामा निराशा बढ्छ ।
भोट दिनुअघि सबैभन्दा पहिले हेर्नुपर्ने पक्ष उम्मेदवारको चरित्र हो । राजनीति सेवा हो कि सत्ताप्राप्तिको साधन भन्ने प्रश्नको उत्तर उम्मेदवारको आचरणले दिन्छ, जसको विगत भ्रष्टाचार, हिंसा, दुराचार, महिला तथा बालबालिकामाथि दुव्र्यवहार, जातीय धार्मिक घृणा फैलाउने गतिविधिसँग जोडिएको छ, उसले जति आकर्षक भाषण गरे पनि जनप्रतिनिधि बन्न योग्य हुँदैन । कानुनी रूपमा दोषी प्रमाणित नभए पनि सामाजिक व्यवहार, सार्वजनिक जीवनमा देखिएको आचरण र मूल्यमान्यताका आधारमा नागरिकले मूल्याङ्कन गर्न सक्नु पर्छ । नैतिक आधार कमजोर भएको व्यक्ति सत्तामा पुगेपछि शक्ति दुरुपयोगतर्फ नै उन्मुख हुन्छ ।
उम्मेदवारसँग स्पष्ट राजनीतिक विचार र दर्शन हुनु अर्को अनिवार्य पक्ष हो । ऊ समाजलाई कुन दिशामा लैजान चाहन्छ, राज्यको भूमिका कस्तो हुनु पर्छ भन्ने उसको बुझाइ के हो, सङ्घीयता, समावेशी, सामाजिक न्याय, धर्मनिरपेक्षता जस्ता संवेदनशील विषयमा ऊ कहाँ उभिएको छ भन्ने कुरा स्पष्ट हुनु पर्छ । विचारविहीन उम्मेदवार अवसरवादी हुन्छ । सत्ताप्राप्तिका लागि आज एउटा विचार, भोलि अर्को विचार अँगाल्ने प्रवृत्तिले देशलाई दीर्घकालीन दिशाहीनतामा धकेल्छ । स्थिर नीति र दिगो विकास विचारमा आधारित नेतृत्वबाट मात्र सम्भव हुन्छ ।
राजनीति केवल नारा, भाषण र आलोचनाको अभ्यास होइन् । यो परिणाम दिन सक्ने क्षमताको क्षेत्र हो । त्यसैले उम्मेदवारको कार्यक्षमता र दक्षता गम्भीर रूपमा मूल्याङ्कन गर्नु पर्छ । उसले विगतमा जिम्मेवारी पाउँदा के ग¥यो, समाजमा कस्तो योगदान दियो वा नयाँ उम्मेदवार भए उसको पेसागत र राजनीतिक अनुभव, सामाजिक सक्रियता र व्यवस्थापन क्षमता कस्तो छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । केवल औपचारिक शिक्षा होइन, निर्णय क्षमता, समस्या समाधान गर्ने सिप र सार्वजनिक हितप्रतिको प्रतिबद्धता पनि उत्तिकै आवश्यक हुन्छ । अनुभवहीन, अपरिपक्व र अव्यवस्थित सोच भएका व्यक्ति संसद्मा पुग्दा नीति निर्माण कमजोर हुन पुग्छ ।
उम्मेदवारको जनतासँगको सम्बन्ध र जवाफदेहिता पनि भोट दिने आधार हुनु पर्छ । चुनावको बेला मात्र जनताबिच देखिने र चुनाव सकिएपछि हराउने उम्मेदवार प्रतिनिधि होइन्, शासक बन्न खोज्ने व्यक्ति हो । साँचो जनप्रतिनिधि त्यो हो, जो जनताको सुखदुःखमा सहभागी हुन्छ, आलोचना सुन्छ, प्रश्नको उत्तर दिन्छ र गल्ती स्वीकारेर सुधार गर्न तयार हुन्छ । जितेपछि फोन नउठाउने, कार्यालय नआउने र जनताबाट टाढा बस्ने प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा हो ।
आजको निर्वाचन प्रणालीमा पैसाको प्रभाव अत्यधिक बढेको छ । धेरै उम्मेदवार चुनावलाई सेवाको अवसर होइन्, लगानीका रूपमा हेर्छन् । जितेपछि असुल गरिन्छ भन्ने सोचले चुनाव लड्ने व्यक्ति सत्तामा पुगेपछि भ्रष्टाचार नगर्ला भन्ने अपेक्षा गर्नु अव्यावहारिक हुन्छ । करोडौँ खर्च गरेर चुनाव जित्ने उम्मेदवार प्रायः ठेकेदार, माफिया र आर्थिक स्वार्थ समूहको प्रतिनिधि बन्छ । त्यसैले भोट दिनुअघि उम्मेदवारको खर्चको स्रोत, उसको आर्थिक पारदर्शिता र कसको हितमा ऊ उभिएको छ भन्ने कुरा गम्भीरतापूर्वक हेर्नु पर्छ । स्वच्छ राजनीतिका लागि कम खर्चमा जनसमर्थनका आधारमा अघि बढ्ने उम्मेदवारलाई प्राथमिकता दिनु आवश्यक छ । रिस, आवेग, लहर र नयाँ परिवर्तनको नाममा फेरि पनि गलत उमेदवारलाई भोट दिनु भनेको फेरि पनि पुरानै समस्या दोहोरिनु हो, परिवर्तनलाई बन्धक बनाउनु हो ।
यस्तै जात, धर्म र क्षेत्रीय पहिचान समाजको यथार्थ हुन् तर तिनकै आधारमा भोट दिनु लोकतन्त्रको आत्मघाती अभ्यास हो । जातीय वा धार्मिक नारा लगाएर चुनाव जित्ने उम्मेदवारले अन्ततः समाजलाई एकताबद्ध होइन, विभाजित गर्छ । कमजोर र विचारविहीन दल र उम्मेदवारले मात्र यस्तो नारा लगाउँछन् । यस्तो राजनीति विकास र समृद्धिको होइन्, ध्रुवीकरण र द्वन्द्वको राजनीतिमा आधारित हुन्छ । देश निर्माणका लागि आवश्यक उम्मेदवार त्यो हो, जो जातीय, क्षेत्रीय र धार्मिक सीमाभन्दा माथि उठेर नागरिकको समान अधिकार र साझा भविष्यको कुरा गर्छ ।
उम्मेदवारको समावेशी र सामाजिक न्यायप्रतिको दृष्टिकोण पनि निर्णायक पक्ष हो । महिला, दलित, आदिवासी, मधेशी, अल्पसङ्ख्यक समुदायप्रति उसको धारणा केवल भाषणमा सीमित छ कि व्यवहारमै लागु हुन्छ भन्ने पनि हेरिनु पर्छ । समावेशी कुनै दया वा उपकार होइन्, यो अधिकार हो भन्ने बुझाइ भएको उम्मेदवार मात्र साँचो अर्थमा लोकतान्त्रिक प्रतिनिधि हुन सक्छ । अधिकारलाई सौदा गर्ने र पहिचानलाई सत्ताको सिँढी बनाउने उम्मेदवार दीर्घकालीन रूपमा समाजका लागि घातक हुन्छन् । राष्ट्रियता र सार्वभौमिकताबारे उम्मेदवारको बुझाइ पनि सतही हुनु हुँदैन । राष्ट्रियता केवल उग्र नारा होइन, विवेकपूर्ण निर्णय र सन्तुलित कूटनीतिसँग जोडिएको विषय हो । राष्ट्रिय हितको स्पष्ट बुझाइ, आत्मसम्मान र व्यावहारिक कूटनीतिक क्षमता भएको उम्मेदवार मात्र भरोसायोग्य हुन्छ ।
देशको जनसङ्ख्या संरचना युवा केन्द्रित छ । त्यसैले उम्मेदवारसँग युवापुस्ताको भविष्यबारे स्पष्ट दृष्टि हुनु पर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, प्रविधि, विदेश पलायन रोक्ने नीति र अवसर सिर्जनाबारे ऊसँग ठोस योजना छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । युवालाई केवल नारामा प्रयोग गर्ने तर नीति निर्माणमा समेट्न नसक्ने उम्मेदवारले भविष्य निर्माण गर्न सक्दैन ।
घोषणापत्र सबैका आकर्षक हुन्छन् तर लोकतन्त्र घोषणापत्रले होइन, व्यवहारले चल्छ । उम्मेदवारले अघिल्लो कार्यकालमा केकति प्रतिबद्धता पूरा ग¥यो, बोलेको र गरेकोबिच कति दुरी छ भन्ने कुरा हेर्नु पर्छ । बोलाइ र व्यवहार मेल खाने उम्मेदवार मात्र विश्वासयोग्य हुन्छ । त्यसैले मत दिँदा क्रोध, डर, बदला वा लोभको भावनाले होइन, विवेक र विश्लेषणले निर्णय गर्नु पर्छ । एक गलत भोटले गलत व्यक्ति जित्न सक्छ, गलत नीति बन्न सक्छ र गलत भविष्य तय हुन सक्छ । त्यसैले भोट दिनु केवल अधिकार प्रयोग होइन, गहिरो उत्तरदायित्व वहन गर्नु हो ।
यसर्थ कस्तो उम्मेदवारलाई भोट दिने भन्ने प्रश्न व्यक्तिगत छनोटभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारी बन्छ । नैतिक, सक्षम, विचारयुक्त, जवाफदेही, समावेशी र जनमुखी उम्मेदवारलाई भोट दिनु नै लोकतन्त्रलाई बलियो बनाउने एक मात्र बाटो हो । हामी अझै पनि जात, पैसा, पार्टी र भावनामा फसिरह्यौँ भने परिवर्तन नआउनुको दोष नेतामा होइन, मतदातामा पर्छ । अब समय आएको छ, नेता बदल्ने बहानाभन्दा पहिले भोट दिने सोच बदल्ने । साँचो लोकतान्त्रिक परिवर्तनको सुरुवात त्यहीँबाट हुन्छ ।