गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग सोामबार नेपालका लागि जापानका राजदूत मायदा तोरूले भेट गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, संस्कृति तथा पर्यटन क्षेत्र र जनस्तरको सम्बन्धलगायत विविध विषयमा छलफल भएको थियो । भेटमा उपराष्ट्रपति यादवले नेपाल र जापानबिच इतिहास र संस्कृतिमा आधारित लामो सम्बन्ध रहिआएको बताउनुभयो । “सन् १९५६ मा नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग, निकटता र गहिरो मित्रताका साथ सम्बन्ध अघि बढिरहेको छ,” उहाँले भन्नुभयो, “दुई मुलुकबिच उच्चस्तरीय भ्रमण आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याएको छ ।”
उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै यस वर्ष मनाइँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव, द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो ।
जापानबाट सहयोगका प्रमुख क्षेत्रमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालले औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत क्षेत्रमा जापानको अनुभव, सिप र प्रविधिबाट लाभान्वित हुने अपेक्षा राखेको बताउनुभयो ।
नेपालका लागि जापानका राजदूत मायदाले नेपालको विकासमा जापान सदैव सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “जापानमा रहेका नेपालीले जापानी समाज र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।”
जापानका सम्राट्को शुभजन्मोत्सवका अवसरमा काठमाडौँस्थित जापानी राजदूतावासद्वारा आयोजना गरिन लागेको स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरिएकोमा उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्दै सहर्ष सहभागी हुने बताउनुभयो ।