• २७ माघ २०८२, मङ्गलबार

भ्रामक तथा गलत सूचनामाथि निगरानी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २७ गते । कृत्रिम बौद्धिकता (एआई) लगायत विविध प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालबाट बाहिरिने भ्रामक, गलत र नियोजित दुष्प्रचारको बिगबिगी रोकी संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले थप सक्रियता बढाउन लागेको छ । 

प्रविधिको प्रयोग गरी भ्रामक र नियोजित रूपमा हुने भ्रामक र गलत सूचना रोक्न प्रहरीले विशिष्टीकृत ‘आइटी सेल’ गठन गर्न लागेको हो ।  प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मिस इन्फरमेसन, डिस इन्फरमेसन र डिफेक इन्फरमेसनको ट्रेन्ड रोक्ने गरी एआई तथा एड्भान्स एनालेटिक सेल गठन गरिने बताउनुभयो ।

सूचना प्रविधिको गलत प्रयोग गरी सामाजिक सञ्जालमार्फत झुटा सामग्रीको प्रकाशन र प्रसारण गर्ने होडबाजी बढ्दो क्रममा रहेको बताउँदै आइजिपी कार्कीले त्यस्ता गतिविधि निगरानी र नियन्त्रण गरी कानुनी कारबाहीलाई प्रभावकारी बनाउन विशेष आइटी सेल गठन गर्नु अपरिहार्य नै भइसकेको बताउनुभयो ।

कार्कीले भन्नुभयो, “आजको डिजिटल युगमा सबैभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजी छ । मिस इन्फरमेसन हुने, इरादा फरक भएर डिस इन्फरमेसन हुने, एआई प्र्रविधिको दुरुपयोग गरी हेट स्पिज तथा डिजिटल म्यानुपुलेसन रोक्न सञ्चार माध्यम र प्रहरीबिचको सहकार्य अपरिहार्य छ ।” 

उहाँले नियोजित रूपमा सिर्जित झुटा सामग्रीले बढवा पाइरहनु सबैका लागि साझा चिन्ताको विषय रहेको बताउँदै यसलाई निरुत्साहित गर्न साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन कार्यान्वयन नै कानुनी शासनको आधार रहेको बताउँदै कटपेस्ट, कपिपेस्टको यान्त्रिकतामा सिर्जनशीलताको शून्यता हुने भएकाले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीले आफ्नो धर्मका रूपमा आत्मासात् गर्न जरुरी रहेको बताउँदै उहाँले सञ्चारकर्मी र प्रहरीबिचको अन्तर्क्रियात्मक कार्यक्रमले समस्या समाधान गर्न मार्गदर्शन तयार हुने पनि बताउनुभयो ।

अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुशीलसिंह राठौरले एआईको दुरुपयोग गरी गलत सूचना दिने होडबाजीले अपराध अनुसन्धानमा नै चुनौती थपेको बताउनुभयो । राठौरले भन्नुभयो, “एआईको दुरुपयोग गरी तयार पारिएका भिडियो र तस्बिरका कारण अपराधको सक्कली प्रमाण नै छुट्याउन कठिन हुने अवस्था सिर्जना हुँदा शान्तिसुरक्षा र अपराध अनुसन्धान नै प्रभावित हुने जोखिम बढ्दो छ ।” 

उहाँले एआईको दुरुपयोग गरी फिरौती तथा असुलीका धन्दा सञ्चालन गर्ने जोखिक बढ्नुका साथै गलत सन्देशका कारण साम्प्रदायिक सद्भाव नै खलबलिन सक्नेतर्फ सबै चिन्तित हुनुपर्ने बताउनुभयो । यसै गरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अपराध अनुसन्धानमा सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण हुने भएकाले कतिपय अनुसन्धान र अदालती प्रक्रियामा रहेका सूचना पहिल्यै बाहिर आउँदा निर्णय प्रक्रियमा असर पुग्नेतर्फ सञ्चारकर्मी सजग हुनुपर्ने बताउनुभयो ।   

यसै गरी नेपाल विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले निर्वाचनको मिति नजिकिँदै गर्दा नियतवश गलत र भ्रामक सूचनाको बाढी नै सुरु भएकाले त्यसतर्फ सबै सजग हुनुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चार माध्यमबाट भन्दा सामाजिक सञ्जालमार्फत भ्रामक र गलत सूचना दिने क्रम बढ्दै गइरहेकाले यसलाई निरुत्साहित गर्न समयमै सही सूचना सम्प्रेक्षण गर्नु अपरिहार्य भइरहेको बताउनुभयो । 

पूर्वएआइजी बमबहादुर भण्डारीले बाह्य मुलुकमा यस्ता अफवाह तथा प्रोपागान्डाविरुद्ध लड्न ह्युमन इन्टेलिजेन्स र टेक्निकल इन्टेलिजेन्स गरी दुई फरक फरक युनिट हुने गरेकाले यहाँ पनि त्यस्तै प्रकृति युनिट आवश्यक रहेको बताउनुभयो । पूर्वआइजिपी प्रकाश अर्याल र पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले गलत र भ्रामक सूचनाका कारण हुन सक्ने सम्भावित घटना रोक्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले तथ्य चेकजाँच गरी विषयवस्तु प्रस्तुतीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।