काठमाडौँ, माघ २६ गते । स्वास्थ्य बिमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न अस्पताललाई निर्देशन दिएको छ।
बोर्डका दाबी व्यवस्थापन तथा नीति योजना शाखा प्रमुख तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.पवन कुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
शाहका अनुसार बोर्डको माघ २४ गते बैठकको निर्णयअनुसार अब सेवा प्रदायक संस्थाहरूले औषधी, शल्यक्रिया सामग्री तथा विभिन्न सेवाहरूजस्तै शल्यक्रिया प्याकेज, मेडिकल प्याकेज, प्रयोगशाला सेवा, सहायक उपकरण, फिजियोथेरापी, रेडियोलोजी तथा बेड शुल्कको दाबी गर्दा बोर्ड र सेवा प्रदायकबीच तोकिएको दरमध्ये न्यूनतम दररेट दाबी गर्नुपर्ने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार यसअघि विभिन्न सेवामा फरकफरक दरमा दाबी गरिँदै आएको अवस्थामा लागत नियन्त्रण र प्रणालीलाई व्यवस्थित बनाउन उक्त निर्णय गरेको हो ।
यो व्यवस्था मिति फागुन १ गतेदेखि कार्यान्वयन गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको छ।