फडिन्द्र अधिकारी
लेखनाथ, माघ २६ गते । आगामी फागुन २ गते शनिबार हुने २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ विधामा प्रतिस्पर्धा हुने भएको छ ।
हरेक वर्ष फागुन पहिलो साताको शनिबार आयोजना हुँदै आएको पोखरा म्याराथनको यसपालिको संस्करणको तयारी पूरा भएको छ ।
यसपालि म्याराथनतर्फ प्रथम हुनेले चार लाख, द्वितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै विधामा गरी १९ लाख ८९ हजार पुरस्कार रकम दिइने आयोजक आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका सचिव महेश पौडेलले बताउनुभयो ।
मञ्चले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा म्याराथनमा विभिन्न इभेन्टमा गरी एकसाथ दश हजारभन्दा बढी धावक दौडिने जानकारी दिइयो । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीका लागि २८ वटा उपसमिति गठन गरिएको छ ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले यसअघि १४ विधामा खेल हुँदै आएको उल्लेख गर्नुभयो । “यस वर्ष सात क्याटेगोरी थप गरेका छौँ,” अध्यक्ष गुरुङले भन्नुभयो, “२१ देशका ६० भन्दा बढी विदेशीसहित म्याराथनका २१ क्याटेगोरीमा तीन हजार पाँच सय छ जना र रन फर फनमा छ हजार सात सय गरी १० हजार दुई सय छ जना सहभागी हुने अनुमान छ ।” उहाँले यो म्याराथनले पोखराको पर्यटन प्रवर्धनमा समेत भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पोखरा म्याराथनमा खुला म्याराथन, नेपाल राष्ट्र स्तरीय खुला म्याराथन, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन र ४५ वर्ष माथिको म्याराथनका ४२.१९५ किमीमा प्रतिष्पर्धा हुने छन् । २१.०९७ किमी हाफ म्याराथन महिला/पुरुष दौड, ४५ वर्षमाथिको पुरुष हाफ म्याराथन, महिला/पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र/छात्रा ५ किमी दौड, ४५ वर्ष माथिको भेट्रान्स महिला ५ किमी दौड हुनेछ ।
५० वर्ष माथिको भेट्रान्स पुरुष पाँच किमी दौड, पाँच किमी खुला महिला (१७ देखि ४४ उमेर समूह)को दौड, पाँच किमी खुल्ला पुरुष (१७ देखि ४९ उमेर समूह)को दौड, पाँच किमी कर्पोरेट महिला/पुरुष दौड तय छन् ।
सोही दिन हुने ‘रन फर फन’मा खुला रुपमा जोकोही दौडमा सहभागी बन्न सक्ने मञ्चका सचिव पौडेलले जानकारी दिनुभयो । पोखरा म्याराथन हुनुभन्दा एक हप्ताअघि ह्विलचियर र दृष्टिविहीन दौड भइसकेको छ । म्याराथनको २१ स्पर्धामा ७६ जना विजेता घोषित हुनेछन् ।