राममणि दाहाल
नारायणगढ, माघ २६ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताउनुभएको छ ।
कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापति शर्माले २००७ सालदेखि अहिलेसम्म प्रजातन्त्र लोकतन्त्रका पक्षमा कांग्रेसले निकास दिएको बताउनुभयो ।
“तानशाही राणालाई मात्रै हैन राजाले नेतृत्व गरेको पञ्चायतलाई समेत गर्ल्यामगुर्लुम्मै ढाल्यो”, उहाँले थप्नुभयो, “संवैधानिक राजतन्त्रलाई स्वीकार गर्दै देशलाई गणतन्त्र ल्याउनसमेत कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।”
जेनजी आन्दोलनको मुख्य उद्देश्य सुशासन कायम गर्ने भएकाले त्यसलाई कांग्रेसले स्वीकार गरेर अगाडि बढेको उहाँले बताउनुभयो ।
“आज जेनजीबाट उठेको कुरा सुशासन हो । त्यो सुशासन कांग्रेसले स्वीकारेर अगाडि बढेको छ । विगतका कमजोरीलाई आत्मआलोचना गरेर अगाडि बढेको कांग्रेस नयाँ सोच र नयाँ उत्साहका साथ अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “आसन्न निर्वाचनलाई हेर्नुभयो भने पनि १६५ क्षेत्रमै सत् प्रतिशत उम्मेदवार बनाउने पार्टी कांग्रेस मात्रै भएको उहाँको दाबी छ ।
विगतमा आफ्नो चिह्नमा भोट हाल्न नपाएर विद्रोह गरेका चितवनका मतदातालाई अहिले आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाएका उहाँले बताउनुभयो । “कांग्रेस नयाँ सोच र नयाँ उत्साहका साथ आएको छ । तपाइहरूकै माग अनुसार आफ्नै चिन्हमा भोट हाल्न पाउने पनि हुनुभएको छ । अब कांग्रेसलाई कसरी जिताउने तपाइको पनि दायित्व हो,”कांग्रेस कार्यकर्ताहरूलाई उहाँले भन्नुभयो ।
उहाँले सबै कांग्रेस उम्मेदवारलाई भोट दिएर निर्वाचित गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेसका उम्मेदवारहरू क्षेत्र नम्बर १ का राजेन्द्र वुर्लाकोटी, क्षेत्र नम्बर २ की मीना खरेल र क्षेत्र नम्बर ३ का टेकप्रसाद गुरुङले बोल्नुभएको थियो ।