खोटाङ, माघ२६ गते ।खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ ।
विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ आएको हो ।
दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताउनुभयो ।
“मन्त्रालयबाट माननीय मन्त्री मानबहादुर लिम्बूज्यूसहितको टोली आएर शिविर तथा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीको अवस्था निरीक्षण गर्नुभएको छ । निरीक्षणका लागि आउनुभएका मन्त्रीज्यूले शिविरका लागि आवश्यक सबै सुविधा उपलब्ध हुने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि तथा उपकरणसहित प्रदेशबाट आउनुभएका डा रामहरि रेग्मी र डा सन्तोष राई नेतृत्वको दुईवटा छुट्टाछुट्टै विज्ञ टोलीले केही दिन दिप्लुङमै बसेर उपचार गर्नुहुन्छ । सम्भवतः अबको केही दिनपछि समस्या समाधान हुन्छ ।”
विवाह भोज खाएर बिरामी भएका स्थानीयलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी भोलिपल्ट अर्थात् माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेपछि तनाव सिर्जना भएको हो ।
विवाह भोज खाएकै कारण बिरामी परेका स्थानीयको उपचारका लागि शिविर आयोजना गरेर गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् ।
शिविरमा बिरामी परेका स्थानीयवासी उपचारका लागि आउने र जानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो ।
विवाह भोज खाएर घर फर्किएका उदयपुर, धरान, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभएको छ । “गाउँपालिकाले आयोजना गरेको शिविरमा अहिले पनि ६० जना बिरामीलाई भर्ना गरेर उपचार गराइरहेका छौँ ।
विवाहमा करिब ३५० जना बढीले भोज खाएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “विवाह भोज खाएकामध्ये अधिकांश पाहुना बिरामी भएको पाइएको छ । उनीहरू सबैलाई शिविरमा ल्याएर उपचार गराइरहेका छौँ । पूर्णरूपमा ठीक हुन अझै केही दिन लाग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।”
गाउँपालिकाको कार्यालयले दिएको अनुसार शिविरमा उपचार गराएर फर्केका बिरामी पनि पुनः समस्या दोहोरिएपछि उपचारमा आउने गरेका छन् ।
पुनः उपचारमा आउनेहरू अधिकांशमा निरन्तर पेट दुखिरहने र पखाला लाग्नेजस्ता समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
यही माघ २३ गते स्थापना गरिएको स्वास्थ्य शिविरमा बिरामीको चाप बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो ।
“प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले छ जना बिरामीलाई बेड (शय्या) भर्ना गरेर उपचार गराइरहेका छौँ । उनीहरूको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ”, उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट विज्ञ टोली आएका छन् । उनीहरूले परीक्षण गरेर उपचार सुरु गरेपछि समस्या समाधान हुने अपेक्षा गरिएको छ ।”
विवाह भोजमा सहभागी सबैजना पाहुना बिरामी भएपछि जन्तेढुङ्गा गाउँपालिकामा तनाव सिर्जना भएको छ । पहिचान नभएका समस्याले विवाह भोजमा सहभागी सबैजना बिरामी भएपछि जिल्लास्थित सम्पूर्ण जनशक्ति नियन्त्रणमा जुटेका छन् । रासस