गोरखापत्र समाचारदाता
काठमाडौं, माघ २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाल रेडक्रस सोसाइटिले एक हजार जना प्राथमिक उपचारक खटाउने भएको छ ।
रेडक्रसले विभिन्न ४१ जिल्लामा खटाउनका लागि प्राथमिक उपचारक स्वयंसेवकलाई धमाधम आवश्यक तालिम दिन थालेको हो ।
निर्वाचनकोे लागि खटाउनका लागि छानिएका काठमाडौं जिल्लाका स्वयंसेवकहरुलाई आइतबारदेखि अभिमुखीकरण गर्न थालिएको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य विभागका उपनिर्देशक लिला खनालले जानकारी दिनुभयो ।
उहाँले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसी, रेडक्रसका साझेदार सोसाइटी र नेपाल रेडक्रसले संयुक्त रुपमा कार्यक्रम सञ्चालन हुने स्पष्ट पार्नुभयो ।
सोही कार्यव्रmममा रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले विभिन्न जिल्लाका मतदान केन्द्रका नजिक रहने गरी प्राथमिक उपचारक टोली परिचालनका लागि पहिलो चरणमा ७५ जना दक्ष स्वयंसेवक छनोट गरिएको बताउनुभयो ।
छनोट भएका स्वयंसेवकहरुलाई रेडक्रसको मूल्य मान्यतालाई आत्मसात गर्दै भइपरि आउँदा मानवीय सेवा गर्नका लागि प्रेरित गरिएको बताउनुभयो ।
यसरी खटिने स्वयंसेवकहरुले निर्वाचनमा मतदान गर्न आउने वा खटिने कर्मचारी कोही कसैलाई स्वस्थ्यसम्बन्धी कुनै समस्या आइपरेमा प्राथमिक उपचारकहरुले प्राथमिक उपचार सेवा प्रदान गर्ने छन् ।