काठमाडौँ, माघ २६ गते । स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा इटालिमाथ सहज जित निकालेको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा सोमबार भएको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो ।
जितका लागि दुई सय आठ रनको विशाल लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।विश्वकपमा इटालीको यो डेब्यू खेल हो ।
स्कटल्यान्डका लागि बेन मानेन्तीले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै ह्यारी मानेन्तीले ३७, जेजे स्मुर्टसले २२ र एन्थोनी मोस्काले १३ रन बनाउनुभयो ।
बलिङमा स्कटल्यानन्डका माइकल लिस्कले चार विकेट लिनुभयो । मार्क वाटले दुई तथा ब्राड्ली करी, ब्राड्ली ह्वील र ओलिभर डेभिडसनले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलेन अविजित ४१, माइकल जोन्सले ३७, माइकल लिस्कले २२ र कप्तान रिची बेरिङ्टनले १५ रन बनाउनुभयो ।
बलिङमा इटालीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मट्सले एक एक विकेट लिनुभयो । जितसँगै समूह ‘सी’ मा स्कटल्यान्डले दुई खेलबाट दुई अङ्क बनाएको छ ।
यस समूहमा इङ्ल्यान्ड र वेस्ट इन्डिजले पनि दुई दुई अङ्क बनाएको छ । आइतबार भएको सनसनीपूर्ण खेलमा दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डले नेपालमाथि चार रनको कठिन जित निकालेको थियो ।
वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो । नेपाल र इटालीले भने हारबाट विश्वकप सुरु गरेका छन् ।