• १५ चैत २०८०, बिहिबार

श्रीलङ्कापथमा छैन आर्थिक सूचक

‘मितव्ययी बनौँ, अर्थतन्त्र बौरिन्छ’

blog

काठमाडौँ,साउन १ गते । मुलुकको अर्थतन्त्रबारे यतिबेला सर्वत्र चासो र चिन्ता छ । दक्षिण एसियाली मुलुक श्रीलङ्का टाट पल्टिसकेको र पाकिस्तान पनि चरम आर्थिक समस्याबाट गुज्रिरहेकाले नेपालले पनि त्यस्तै समस्या भोग्नुपर्छ कि भन्ने शङ्का व्यक्त हुने गरेका छन् ।

 कतिपय राजनीतिक दलका नेताको भाषणले पनि यस्तो शङ्कालाई बल पुगेको छ । तर अर्थविद् भने यस्तो कुरा नकार्छन् । अर्थतन्त्रका विद्यमान सूचकले परिस्थिति सहज नभए पनि श्रीलङ्काकै पथमा मुलुक जाने सङ्केत नदेखिएको उहाँहरूको भनाइ छ । बरु अर्थतन्त्रमा अहिले मुख्य समस्याका रूपमा देखापरेको अत्यधिक व्यापार घाटा र त्यसले गर्दा विदेशी मुद्राको सञ्चितिमा परेको दबाब सुधार्न उपभोग घटाएर मितव्ययी बन्न सके अर्थतन्त्र लयमा फर्कन सक्ने सम्भावना देख्नुहुन्छ उहाँहरू । 

अर्थतन्त्रका सूचकाङ्कले नेपाल श्रीलङ्कापथमा नभए पनि आर्थिक अनुशासन पालना नगरे समस्या पर्न सक्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल बताउनुहुन्छ । “ऋण धेरै छैन, सात महिनालाई पुग्ने सञ्चिति छ, विपे्रषण पनि राम्रै छ,” उहाँले भन्नुभयो, “यस्ता सूचकले पनि हामी श्रीलङ्कापथमा छैनौँ र जाँदै छैनौँ भन्ने देखाउँछ ।” तर अहिले समस्यामा परेका लाओस, श्रीलङ्का, पाकिस्तानजस्ता देश कसरी त्यो परिस्थितिमा पुगे भन्ने सिकेर त्यस्तो गल्ती नगर्ने दृढता राजनीतिक नेतामा हुनुपर्ने उहाँको सुझाव छ । 

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि अर्थतन्त्र श्रीलङ्काको लयमा नरहेको बताउनुहुन्छ । अर्थतन्त्रमा अहिले जे कारणले समस्या देखिएको छ, त्यसलाई समाधान गर्न सकिने ठाउँ रहेकाले पनि त्यस्तो परिस्थिति तत्काल आउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

अर्थविद् डा. गोविन्द नेपाल अहिले नै नेपालको अवस्था श्रीलङ्काजस्तो नभए पनि गम्भीर भने हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ । “अर्थतन्त्रका समस्या सुधार्न खोजेनौँ र केही तल–माथि भयो भने हामी पनि त्यहाँसम्म पुग्न सक्छौँ,” उहाँले भन्नुभयो । 

मितव्ययी बन्दा सुध्रिन्छ अर्थतन्त्र

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेका कारण अर्थतन्त्रमा समस्या देखिएकाले उपभोगको प्रवृत्तिमा सुधार गर्नुपर्ने अर्थविद्हरूको सुझाव छ । यसैकारण बैङ्क तथा वित्तीय संस्थाको कर्जा पनि आयातमै लगानी हुँदा उत्पादक क्षेत्रका लागि लगानीयोग्य पुँजी अभाव भइरहेको उहाँहरूको बुझाइ छ ।

मुलुकभित्र उत्पादन नहुँदा अर्थतन्त्र आयातमा निर्भर हुनुपर्दा ठूलो परिमाणमा पैसा बाहिरिएकाले त्यसको समाधानका लागि मितव्ययी बन्नुपर्ने उहाँहरूको सुझाव छ । योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेल सरकार र उपभोक्ता दुवैले फजुल खर्च व्यापक कटौती गर्नुपर्ने बताउनुहुन्छ । खासगरी इन्धनको खपतमा सचेत हुनुपर्नेमा उहाँको जोड छ । “रातिसम्म सार्वजनिक यातायातको सुविधा दिने र कार्यालय दुई दिन बिदा दिनु तत्कालका लागि उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । 

अनुत्पादक र विलासिताका वस्तु आयात रोक्ने र तीनै तहका सरकार मिलेर तरकारी, फलफूल र  दलहन उत्पादनलाई व्यापक बनाउन सके व्यापार घाटा कम हुने र यसले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने उहाँको बुझाइ छ । 

पूर्वगभर्नर क्षेत्री पनि अर्थतन्त्र समस्यामा परेकाले उपभोक्ताले पनि सरकारलाई सहयोग गर्न त्यसैअनुसार व्यवहार गर्नुपर्ने सुझाव दिनुहुन्छ । अर्थतन्त्र सबै हिसाबले नोक्सानमा नरहेकाले अहिलेको परिस्थितिमा आवश्यक नपर्ने उपभोग घटाए अर्थतन्त्र बौरिन सक्ने उहाँको बुझाइ छ । गुन्दु्रक, चामलजस्ता खाद्य पदार्थ पनि आयात गरेर खाइरहने हो भने अवस्था बिग्रने भएकाले यस्ता कुरामा उपभोक्ता नै सचेत हुनुपर्ने उहाँको सुझाव छ । 

उपभोक्तावादी संस्कृतिका कारण पनि आयात बढेकाले उपभोग कटौती गरेर अर्थतन्त्रलाई लयमा ल्याउने दायित्व उपभोक्ताको पनि हुने अर्थविद् नेपालको भनाइ छ । सरकारले पनि गाडी खरिदलगायतका फजुल उपभोगलाई कडाइसाथ नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । “उपभोक्ताले अत्यावश्क पर्दासम्म गाडी नचलाउने, आयातित ब्रान्डेड कपडा प्रयोग नगर्नेजस्ता प्रतिबद्धता गर्ने हो भने पनि धेरै सहयोग हुन सक्छ,” उहाँले भन्नुभयो । 

यसरी बढाउन सकिन्छ सञ्चिति

विदेशी मुद्रा त्यसमा पनि खासगरी अमेरिकी डलरको सञ्चिति घटेकाले त्यसलाई बढाउन विदेशी पर्यटक भिœयाउनेमा जोड दिनुपर्ने अर्थविद्हरूको सुझाव छ । यसका लागि विदेशमा रहेका राजदूतावास र महावाणिज्य दूतावासलाई सक्रिय बनाएर पर्यटक भिœयाउनेमा पहल गर्नुपर्ने उहाँहरू बताउनुहुन्छ । प्याकेज नै घोषणा गरेर पर्यटकलाई नेपाल ल्याउने कार्यक्रम लागू गर्नुपर्ने पोखरेलको भनाइ छ । यसबाहेक विपे्रषण भिœयाउनेलाई प्रतिडलर एक रुपियाँ बढी दिएर पनि सञ्चिति बढाउन सकिने उहाँले बताउनुभयो । 

अर्कोतिर विदेशी लगानीलाई आकर्षित गर्न सम्बन्धित सरकारी निकायको प्रभावकारी समन्वयमा उहाँहरूको जोड छ । “नेपालमा लगानी गरे धेरै नाफा आउँछ भन्ने उदाहरण दिएरै लगानीकर्तालाई पे्ररित गर्नुपर्छ,” पूर्वगभर्नर क्षेत्री भन्नुहुन्छ । 

यसबाहेक अहिलेको अर्थतन्त्रको मूल समस्याको विश्लेषण र त्यसको समाधानको ठोस उपाय खोज्नेगरी विज्ञ सम्मिलित ‘टास्क फोर्स’ गठन गर्नुपर्ने अर्थविद् नेपालको सुझाव छ । त्यसको सुझावका आधारमा सञ्चिति बढाउने उपायलाई कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।