काठमाडौँ, माघ २५ गते । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्का हान्नुभयो ।
ओपनर कुशल भुर्तेलले २९, आशिफ शेखले सात, आरिफ शेखले १०, लोकेश बमले अविजित ३९ रन बनाउनुभयो । उहाँले २० बलमा चार चौका दुई छक्का हान्नुभयो । गुल्शन झा एक रनमा आउट हुनुभयो । करण केसी एक रनमा अविजित रहनुभयो ।
बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई तथा विल ज्याक्स, साम कुरन, जोफ्रा आर्चर र लुक उडले एक एक विकेट लिनुभयो । पहिलो जितसँगै समूह ‘सी’ मा इङ्ल्यान्डले दुई अङ्क बनाएको छ । नेपालले हारबाट विश्वकप यात्रा सुरु गरेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । इङ्ल्यान्डका लागि ज्याकोब वेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
ज्याकोबले सर्वाधिक ५५ रन बनाउनुभयो । उहाँले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान ह्यारी ब्रुकले ३२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाउनुभयो ।
ओपनर जोस बट्लरले २६, विल ज्याक्सले अविजित ३९ रन बनाउनुभयो । अर्का ओपनर फिल साल्टले एक तथा टोम ब्यान्टोम र सान कुरान दुई दुई रन जोड्दै पेभेलियन फर्कनुभयो । जोफ्रा आर्चर एक रनमा रन आउट हुनुभयो ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई दुई तथा सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिनुभयो । यस खेलसँगै टी–२० विश्वकपमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले डेब्यू गर्नुभएको छ ।
नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेलेको हो । विश्वकपको समूह ‘सी’ मा नेपाल र इङ्ग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेको छ ।
भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ ।
अब नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममै खेल्ने छ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।
इङ्ल्यान्डविरुद्ध नेपाल–११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र शेर मल्ल ।