• २५ माघ २०८२, आइतबार

गोरखापत्रका पूर्व संवाददाता एवम् वरिष्ठ पत्रकार चौधरीको निधन

blog

स्वर्गीय पत्रकार बैधनाथ चौधरी ।

रवीन्द्र उप्रेती
बर्दिबास, माघ २५ गते ।
महोत्तरीका वरिष्ठ पत्रकार बैधनाथ चौधरीको आइतबार बिहान निधन भएको छ । विगत केही समयदेखि रुघाखोकी, दमलगायत स्वास्थ्य समस्याबाट अस्वस्थ भई उपचाररत रहनुभएका ६७ वर्षीय चौधरीको आज बिहान करिब ५ बजे महोत्तरीको पिपरा गाउँपालिका–७, दनौली बनौलीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिकले जनाएको छ ।

करिब तीन दशक लामो पत्रकारिता यात्रामा सक्रिय रहनुभएका चौधरीले गोरखापत्र दैनिक, रेडियो वीरगन्ज तथा विभिन्न स्थानीय पत्रिकामा महोत्तरी संवाददाताका रूपमा काम गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद रहनुका साथै नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश कार्यसमिति सदस्यको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।

प्रेस स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घले आह्वान गरेका विभिन्न सङ्घर्ष तथा आन्दोलनमा उहाँ सक्रिय रूपमा सहभागी हुनुहुन्थ्यो । सरल, निडर, प्रतिबद्ध तथा मिलनसार पत्रकारका रूपमा परिचित चौधरीको योगदानलाई महोत्तरीसहित समग्र पत्रकारिता क्षेत्रले उच्च सम्मानका साथ स्मरण गरेको छ ।

स्वर्गीय चौधरीका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । छोरा सुमित चौधरीका अनुसार उहाँको पार्थिव शरीर आज अपराह्न गाउँकै आर्यघाटमा दाहसंस्कार गरिने छ ।

यसैबिच नेपाल प्रेस युनियन महोत्तरी शाखाले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । विज्ञप्तिमा स्वर्गीय चौधरीको निधनले महोत्तरीको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको तथा उहाँको निधनले युनियनसहित सम्पूर्ण पत्रकार जगत स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ ।