गुणबहादुर रोका
सुलीकोट, माघ २५ गते । गोरखामा ३४ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । शनिबार लायन्स आँखा सेवा केन्द्रले आँखामा समस्या देखिएका विभिन्न ३४ जना मोतियाबिन्दुको बिरामीको निःशुल्क उपचार गरिएको हो ।
उक्त शल्यक्रियाबाट १८ जना महिला र १६ जना पुरुष गरी ३४ जना लाभान्वित भएका छन् । विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा शिविरमा जाँचका क्रममा मोतियाबिन्दु देखिएका बिरामीहरुलाई केन्द्रमा बोलाएर शल्यक्रिया गरिएको आँखा सेवा केन्द्र गोरखाले जनाएको छ ।
शल्यक्रिया गरिएका बिरामीहरु गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका आर्थिक अबस्था कमजोर भएका वृद्धवृद्धाहरु रहेका छन् ।
लायन्स आँखा सेवा केन्द्रले समुदाय र विद्यालय तहमा नियमित रुपमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जाँचका क्रममा जटिल समस्या देखिएमा आवश्याक उपचारका लागि बिरामीलाई केन्द्रमै रेफर गरिँदै आएको जनाइएको छ ।
यसैबिच सेतो पुतलीका कारण देखिने शापु रोगले आँखामा गम्भीर सक्रमण गराउन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरेको छ । आँखामा कुनै पनि समस्या देखिएमा ढिलाइ नगरी नजिकको आँखा सेवा केन्द्रमा पुगेर उपचार गराउन केन्द्रले अनुरोध गरेको छ ।
गोरखामा वृद्धवृद्धा, अशक्त र आथिक अवस्था कमजोर भएका मानिसलाई लायन्स आँखा सेवा केन्द्रले निःशुल्क उपचार गरी सहयोग गर्दै आएको लायन्स आँखा सेवा कार्यालय गोरखाले जनाएको छ ।