• २५ माघ २०८२, आइतबार

सम जयन्तीमा ‘सन्तति’ लोकार्पण

blog

माछापुच्छ्रे, माघ २५ गते । नाटककार बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा शनिबार आयोजित समारोहमा कथाकार डा. पुष्पा केसी भण्डारीको लघुकथा कृति ‘सन्तति’ समेत सार्वजनिक गरिएको थियो ।

लोकगायिका हरिदेवी कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकीकी प्रेस रजिस्ट्रार विमला भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सूर्य खड्का ‘बिखर्ची’, हाम्रो लघुकथा केन्द्रकी गण्डकी संयोजक शुभ शर्मा र डा. नारायणप्रसाद अधिकारीले कृति सार्वजनिक गरे । लोकगायिका कोइरालाले नारी प्रतिभाको उपस्थिति पातलो रहेको लघुकथामा पुष्पाको लेखन सबैका लागि प्रेरणादायी बनेको बतउनुभयो । 

गण्डकी हाइटेकले प्रकाशन गरेको कृतिको मूल्य २५० रुपियाँ छ । यसमा ४७ लघुकथा सङ्गृहित छन् । कार्यक्रममा गण्डकीकी प्रेस रजिस्ट्रार विमला भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बिखर्ची, इन्द्र–हुमा वाङ्मय पुरस्कार कोषका संस्थापक सविन जिसी, हाम्रो लघुकथा केन्द्रकी गण्डकी संयोजक शर्मा, नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी अध्यक्ष छन्दिका त्रिपाठी, डा. नारायणप्रसाद अधिकारी, असफल गौतमलगायतले धारणा राख्नुभएको थियो ।