कालीकोट समाचारदाता
कालीकोट, माघ २५ गते । कालीकोटका राजनीतिक दलले चुनावी एजेन्डाका रूपमा प्रयोग गर्दै आएको सुनथराली विमानस्थलमा अहिलेसम्म जहाज आउन सकेको छैन । २०४२ सालमा निर्माण सुरु भएको यस विमानस्थलको २०७९ मा कालोपत्रेको काम सम्पन्न भएको थियो । निर्माणसम्पन्न भएर २०८० सालमा तामझामका साथ उद्घाटन गरिए पनि त्यसयता एक दिन पनि हवाईजहाज आएको छैन तर सधैँ राजनीतिक दलको चुनावी एजेन्डा भने बनिरहेको छ ।
नरहरिनाथ गाउँपालिका–१, कोटवाडामा रहेको उक्त विमानस्थल नियमित उडानका लागि गाउँपालिकाले पनि प्रयास गरेको थियो । विमान कम्पनी र एजेन्टबिचको कमिसनको भागबन्डामा कुरा नमिलेपछि गाउँपालिकाले गरेको प्रयास पनि असफल भएको थियो । नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले विमान कम्पनीसँग बिचौलिया लागेकाले आफूहरूको योजना सफल हुन नसकेको बताउनुभयो ।
करिब १५ करोड रुपियाँ लागतमा निर्माण भएको यस विमानस्थलको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर छ । यस्तै ट्याक्सीवेको लम्बाइ २५ मिटर र चौडाइ २० मिटर रहेको छ ।