गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । राणाशासनदेखि नै सुरु भएको नेपालको पर्यटन अहिले सबैभन्दा बढी लगानी भएको क्षेत्रका रूपमा उभिएको छ । बाह्य जगत्सँग नेपालको सम्बन्ध स्थापित भएसँगै सुरुवात भएको नेपालको पर्यटन उद्योग अहिले आर्थिक विकासको मेरुदण्डको अवस्थामा उभिएको छ ।
पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख अङ्ग मानी त्यसका लागि दीर्घकालीन योजना बन्नुपर्नेमा जोड आएको पर्यटन क्षेत्रले सशस्त्र युद्ध, दरबार हत्याकाण्ड, जनआन्दोलन, भूकम्प, कोरोना महामारीलगायतका विपत्ति र जेनजी आन्दोलनसम्म भएका व्यवस्था परिवर्तनको यात्रासँगसँगै समृद्धितर्फ अग्रसर रहेको छ ।
देश निर्वाचनमा होमिएसँगै राजनीतिक दलले पार्टीको चुनावी घोषणापत्रमा पर्यटन क्षेत्रमार्फत विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र प्रमुख आर्थिक समृद्धिको प्रतिबद्धता जनाएर जनतासमक्ष जाने तयारीमा रहेका छन् । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पर्यटन क्षेत्रले समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएकाले यी विषयले पार्टीको घोषणापत्रमा प्राथमिकता पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग, पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा अगाडि बढाउन आवश्यक छ । पर्यटन क्षेत्रको विकास र विस्तार, निजी क्षेत्रको सहभागिता, लगानीको सुरक्षा, राजनीतिक स्थिरता, पूर्वाधार विकासलगायतका मूल मुद्दालाई आर्थिक एजेन्डाका रूपमा चुनावी घोषणामै समेटेर अघि बढ्दै छौँ ।”
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पर्यटन क्षेत्रको संरक्षण, लगानीको सुरक्षालगायतका दीर्घकालीन योजनासहितको घोषणापत्र आउने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा रहेको लगानी सुरक्षाको प्रत्याभूति गर्दै संवैधानिक अप्ठ्यारालाई समाधान गरेर राजनीतिक स्थिरतामा प्रतिबद्धता जनाउँछौँ। पर्यटन प्रवर्धनमा जोड दिँदै पर्यटकीय गन्तव्यको विकास, पूर्वाधारमा लगानीको आतावरण, लगानीको सुनिश्चततालगायत मुलुकमा भएका आमूल परिवर्तनको माग अनुसार पार्टीको घोषणापत्र तयार हुँदै छ ।”
नेपाली कम्युनिस्ट पार्टीका नेतृ पम्फा भुसालले कृषि, पर्यटन र जलस्रोतलाई प्रमुख आर्थिक समृद्धिको आधार बनाएर घोषणापत्र अन्तिम रूप तयार भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी नीति बनाउने, पूर्वाधारको विकास, फलदायी पर्यटन उद्योगको स्थापनालगायतका लक्ष्यसहित मतदातामाझ जाँदै छौँ । महँगो हवाई भाडा नियन्त्रण र पर्यटन क्षेत्रमा पूर्वाधार, विद्युत्, पानी र सुरक्षाको प्रबन्धलगायतका प्रतिबद्धता समेट्छौँ ।”
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटीले पार्टीको घोषणापत्रमा समग्र पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको पखेटाको रूपमा प्रतिबद्धता तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि सम्भव रहेकाले वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जनासँगै यस क्षेत्रको विकासका लागि समयसापेक्ष ऐन नियम निर्माणमा जोड दिने छौँ ।”
राजनीतिक दलले निर्वाचनको समयमा घोषणापत्र वा प्रतिबद्धतासहितका कार्यक्रम ल्याए पनि सत्तामा पुगेपछि भने उक्त घोषणापत्र कमै मात्रै कार्यान्वयन हुने गरेका छन् । पाँच/छ वटा दल मिलेर सरकार बनाउँदा सबैका आआफ्ना घोषणापत्र तथा एजेन्डा हुने र अस्थिर सरकार हुँदा निर्वाचनमा जनाएका प्रतिबद्धता त्यसै हराउने गरेका राजनीतिक दलको धारणा छ ।
अघिल्लो घोषणापत्र
यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ मा प्रमुख राजनीतिक दलले पर्यटन क्षेत्रमार्फत देशको समुन्नति र राष्ट्रको मुहार फेर्ने प्रतिबद्धता घोषणापत्रमा समेटेका थिए ।
प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्त्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण गन्तव्य बनाउने प्रायः सबै दलको प्रतिबद्धता थियो । त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहकको सबलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गर्नेलगायतका एजेन्डा समावेश भएका थिए ।
एमालले नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै पाँच वर्षभित्र २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित विश्व बजारमा पर्यटन प्रवर्धन गर्ने, पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वद्धि गर्न, पर्यटकीय पूर्वाधार निर्माण, पर्यटनसम्बन्धी उच्च अध्ययन गर्न विश्वविद्यालय स्थापना गर्नेलगायतका प्रतिबद्धता जनाएको थियो ।
त्यस्तै नेपाली कांग्रेसले दिगो र समावेशी विकासका लागि पर्यटनको विकाससहित पाँच वर्षभित्र पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने, पर्यटकको औसत बसाइलाई १३ दिनबाट १५ दिन पु¥याउने, प्रतिपर्यटक खर्च दैनिक ४८ उतरबाट एक सय डलर पु¥याउनेलगायतका मुख्य लक्ष्य राखेको थियो ।
त्यस्तै तत्कालीन माओवादी केन्द्रले पयापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनका प्रवर्धन गरी दिगो पर्यटनका आधार तयार गर्ने जनाउँदै पूर्वाधार र पर्यटकीय संरचना निर्माण, धार्मिक पर्यटन गन्तव्यको विकास, हिमाल आरोहीको वर्गीकरण गरी परिचयपत्र व्यवस्था, हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका निम्ति फोहोरमुक्त हिमाल कार्यव्रmम लागु, दुर्गम पहाड, पर्यटकीय गतिविधिमा लगानी, कर छुटलगायतका थप आधार सार्वजनिक गरेको थियो ।