गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि छापिएको मतपत्र यही महिनाको अन्तिमबाट सम्बन्धित जिल्लामा पठाइने भएको छ । निर्वाचन आयोगले यसबारे तयारी गरिरहेको छ । शनिबार आयोगमा भएको मतपत्र ढुवानी समितिको बैठकमा छापेर तयारी अवस्थामा राखिएका मतपत्र जिल्लामा पठाउन सुरु गर्ने निर्णय गरिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुनको पहिलो साताभित्रमा मतपत्र सम्बन्धित जिल्लामा पुर्याइसक्ने लक्ष्य लिइएको छ ।
नेपाली सेनाको सुरक्षामा मतपत्र सम्बन्धित जिल्लामा पठाइने छ । सेनाले सम्बन्धित जिल्लामा पठाएर जिल्ला सुरक्षा समितिलाई जिम्मा लगाउने छ र आवश्यकता अनुसार त्यसको सुरक्षा पनि सेनाले नै दिने छ । प्रवक्ता भट्टराईले भन्नुभयो, “मतपत्र पुर्याइएका जिल्लामा कुन कार्यालयमा राख्ने भन्ने विषयमा भने छलफल भइरहेको छ ।”
समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र आयोगले एकै पटक ढुवानी गर्न लागेको हो । हाल जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छापिरहेको छ । समानुपातिकतर्फको मतपत्र यसअघि नै छापिसकेको छ । प्रत्यक्षतर्फको भने छपाइ कार्य भइरहेको छ ।