निशा राई
धरान, माघ २४ गते । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँले न्युरोड टिम (एनआरटी) लाई २–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
धरान रङ्गशालामा शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले ४३औँ मिनेटमा केबेले गोल गर्दै टोलीलाई अग्रता दिनुभएको थियो । दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको प्लानिङ ब्वाइज युनाइटेडले ८६औँ मिनेटमा श्याम मुरमुरको गोलमार्फत अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेको हो ।
खेलमा प्लानिङ ब्वाइज युनाइटेडका गोलरक्षक योगेश धिमाल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।एनआरटी अघिल्लो लगातार दुई संस्करणको विजेता भएपनि यसपटक समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड, काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा डियो स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।