बिष्णुप्रसाद पोखरेल
दमक, माघ २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कारयुक्त सोच र व्यवहार नै देश निर्माणको आधार भएको बताउनुभएको छ ।
सबैलाई सुमार्ग, सुबिचार र सुकर्मबाट अघि बढ्न आग्रह गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । शनिवार झापाको कमल गाउँपालिकामा भएको धार्मिक कार्यक्रममा कसैको धर्म र आस्थामाथि आघात गर्नु हुन्न भन्ने मान्यता राख्दै नेकपा (एमाले) र आफू अघि बढ्ने जनाउनुभयो । हामी संस्कारी नेपाली हौँ । संस्कार, नैतिकता र जिम्मेवारीबोधबिना समृद्धि सम्भव हुँदैन, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले नेपाल सनातन धर्म, सभ्यता र संस्कृतिमा आधारित राष्ट्र भएको उल्लेख गर्दै आफूहरू सनातनी भएको स्पष्ट गर्नुभयो । हिन्दु राष्ट्र वा हिन्दुत्वको बहसभन्दा पनि सनातन सभ्यताको मर्म र मूल्य बुझेर त्यसअनुसार अघि बढ्न आवश्यक रहेको ओलीले धारणा राख्नुभयो ।
सनातन भन्ने शब्द केवल धार्मिक पहिचानमा सीमित नभइ जीवनदर्शन, संस्कार र सभ्यताको निरन्तरता भएको अध्यक्ष ओलीले बताउनुभयो । हिन्दु राष्ट्र पुरानो विषय हो, तर हाम्रो सभ्यताको विकास सनातन मूल्यबाट भएको हो । त्यसैले ‘हिन्दु’ भन्दा ‘सनातनी’ भन्ने पहिचान बढी उपयुक्त हुन्छ, उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले आफू चुनावी प्रचारका लागि नभई देश निर्माणको साझा संकल्प बोकेर जनतामाझ आएको स्पष्ट पार्नुभयो । म चुनाव प्रचार गर्न आएको होइन, सुखको देश, सुखमय देश बनाउने संकल्प यहाँहरूसम्म पु¥याउन प्रत्यक्ष रुपमा आएको हुँ, उहाँले भन्नुभयो ।
राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र विकासलाई सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिँदै सनातन मूल्यलाई आधुनिक विकाससँग जोड्नसके नेपाल समुन्नत र सुखी राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।