प्रेमराज सिम्खडा
कालीकोट, माघ २४ गते । कालीकोटको राजनीतिक दलले २०६४ यताका आम निर्वाचनदेखि स्थानीय तहका निर्वाचनमा भोट बटुल्ने साधनका रुपमा प्रयोग गर्नेगरेको सुनथराली बिमानस्थल बने पनि अझै जहाज आउन सकेको छैन ।
जति चुनाव हुन्छन् सधै दलको चुनावी एजेण्डा बन्ने सुनथराली बिमानस्थल ३७ बर्षपछि तयार भए पनि जहाज कहिले आउने निश्चित् छैन । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएपछि औपचारिक उद्घाटनका लागि एक बर्ष कुर्नपरेको थियो ।
बल्लतल्ल निर्माण सकिएर २०८० सालमा तामझामसाथ उद्घाटन भएको कालीकोटको एकमात्र सुनथराली बिमानस्थलमा त्यसयता एक दिन पनि हवाइजहाज आएको छैन । सधै राजनीतिक दलको चुनावी एजेण्डा भने विमान आउने विषय बनिरहेको छ ।
दुई पटक प्रतिनिधिसभा र एक पटक प्रदेश सभामा निर्वाचित भएर मुख्यमन्त्री समेत भइसकेका नेकपाका नेता महेन्द्रवहादुर शाहीले बिमानस्थल सञ्चालनका लागि मान्म कोटवाडा केवुलकारको आबश्यक्ता रहेको भन्दै आफूले जिते काम पूरा गर्ने बताउनुभयो ।
कुनै बेला एक स्थानीय रेडियोमा अन्तरवार्ता दिदै कालीकोटका जनताको प्लेन चढ्ने हैसियत नभएको भन्ने नेता शाही अब केवुलकारको सपना बाँडेर मत मागिरहेका छन् । अरु दल पनि नियमित उडानका लागि आफ्नो पार्टीले जित्नुपर्ने तर्क गरिरहेका छन् ।
एक अर्बभन्दा बढी निर्माण खर्च भएको विमानस्थल कालोपत्रे गर्न भ्याटसहित १४ करोड, ९३ लाख पाँच हजार रुपियाँ खर्च भएको थियो । चौतर्फी दबाबपछि २०८० सालमा बिमानस्थल उद्घाटन भए पनि त्यो दिनदेखि यता एक दिन पनि बिमान आएको छैन ।
नरहरीनाथ गाउँपालिकाको वडा १ कोटवडामा रहेको उक्त बिमानस्थलमा नियमित उडानका लागि गाउँपालिकाले पनि प्रयास गरेको थियो । तर बिमान कम्पनी एजेण्टबिचको कमिसन भागबण्डामा कुरा नमिलेपछि गाउँपालिकाले गरेको प्रयास पनि असफल भएको थियो ।
नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप वोहराले बिमान कम्पनीसँग बिचौलीया लागेकाले आफूहरुको योजना सफल हुन नसकेको बताउनुभयो । सुनथराली विमानस्थल, कोटवाडाका आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर रत्नवहादुर श्रेष्ठले २०७९ साल माघ महिनामा गोरखापत्रसँग कुरा गर्दै निकट भविष्यमै विमानस्थलमा हवाइजहाज अवतरण गराउने भन्नुभएको एक बर्षमा अबतरण त भयो, तर फेरि पर्केन ।
विमानस्थलको लम्बाई ६४० मिटर र २० मिटर चौडाइ रहेको छ । विमानको टर्निङ ५०० वर्गमिटरका दुईवटा छन् । यस्तै, ट्याक्सी (वय) रुड २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ छ । कोटवाडा विमानस्थलमा दुवैतर्फबाट बिमान अवतरण गर्न सक्ने गरी निर्माण गरिएको छ ।