जोस (नाइजेरिया), माघ २४ गते । नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ । यस क्षेत्रमा लामो समय देखि अन्तर-साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतलाई यदृत गर्दै एएफपीले जनाएको छ ।
क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाकुले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ । उहाँले आक्रमणकारीले बजारमा आक्रमण गरेर मानिसमाथि अनियमित रूपमा गोली हानेको बताउनु भएको छ ।
आक्रमणले व्यापारी र बासिन्दालाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ । बासिन्दा र स्थानीय मिडियाका अनुसार मङ्गलबार सशस्त्र व्यक्तिले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एक जना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो ।
यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिस र मुख्यतया इसाई किसानबिच भूमि र स्रोतको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ । हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापबाट अशान्ति उत्पन्न भएको जनाइएको छ । रासस/एएफपी