• २४ माघ २०८२, शनिबार

भरुवा बन्दुकसहित एकजना पक्राउ

blog

भरुवा बन्दुकसहित समातिएका ७४ वर्षीय कुङ्गा सुन्दुप लामा । तस्बिरः नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), माघ २४ गते । जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नङ्ग्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिमकोट गाउँपालिका –४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामा रहेका छन् । प्रहरीको अनुसन्धानले आरोपित लामा र उनको घरको कोठाबाट भरुवा बन्दुकसहित भालुकोजस्तो पन्जाको नङ्ग्रा बरामद गरेको हो । 

भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई गरी राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । गोप्य सूचनाको आधारमा माघ २४ गते बिहान साढे ९ बजे १ थान बन्दुक र जंगली जनावरको भालुकोजस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।