संयुक्त राष्ट्रसङ्घ, माघ २४ गते । गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीलाई दुर्व्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसङ्घका मानवीय निकायले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
यसैबिच, सर्वसाधारणलाई लक्षित गर्दै भइरहेका इजरायली आक्रमणका कारण मानवीय अवस्था झन् जटिल बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाका सर्वसाधारण बसोवास गर्ने क्षेत्रमा हवाई आक्रमण र गोलाबारी निरन्तर भइरहेको छ, जसका कारण मानवीय क्षति र भौतिक संरचनामा ठुलो नोक्सानी पुगेको छ ।
कार्यालयले बिहीबार इजरायली सेनाले शरणार्थीका लागि स्थापित विद्यालय समूह अन्तर्गत अन्तिम बाँकी रहेको एक विद्यालय पनि ध्वस्त पारेको जनाएको छ । यससँगै सो क्षेत्रका सबै विद्यालय पूर्ण रूपमा नष्ट भएका छन् । संयुक्त राष्ट्रसङ्घले सर्वसाधारण तथा सर्वसाधारण संरचनाको सधैँ संरक्षण हुनुपर्ने र तिनलाई कहिल्यै पनि सैन्य गतिविधिका लागि प्रयोग वा लक्षित गर्न नहुने स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्र सङ्घको विकास कार्यक्रमले बिहीबार इजरायली जाँच चौकीबाट २१ जना फर्किएका व्यक्तिलाई खान युनिसस्थित नासेर अस्पताल पुर्याएको जनाएको छ । सोमबारदेखि हालसम्म ९८ जना फर्किएका व्यक्तिलाई त्यहाँ स्वागत गरिएको छ । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले फर्किएका प्यालेस्टिनीमाथि दुर्व्यवहार, अपमान र हिंसाको क्रम देखिएको भन्दै चेतावनी दिएको छ ।
कार्यालयका अनुसार केही सशस्त्र प्यालेस्टिनी समूहले इजरायली सेनाको समर्थनमा फर्किनेलाई हातकडी लगाउने, आँखामा पट्टी बाँध्ने, धम्की दिने, शरीर जाँच गर्ने तथा पैसा र निजी सामान लुट्ने गरेका छन् । मानव अधिकार कार्यालयले फर्किने क्रममा इजरायली जाँच चौकीमा हिंसा, अपमानजनक सोधपुछ तथा शारीरिक मर्यादा उल्लङ्घन हुने किसिमका जाँच गरिएको विवरण प्राप्त भएको जनाएको छ ।
यी सबै गतिविधिले प्यालेस्टिनीको व्यक्तिगत सुरक्षा, मानवीय मर्यादा तथा यातना र अमानवीय व्यवहारबाट मुक्त रहने अधिकारको गम्भीर उल्लङ्घन गरेको कार्यालयको निष्कर्ष छ । मानवीय सहायता समन्वय कार्यालयका अनुसार गाजाभित्र मानवीय सहायता पुर्याउन अझै पनि इजरायली अधिकारीसँग समन्वय गर्नुपर्ने अवस्था कायम छ । बिहीबार र शुक्रबार समन्वयका लागि प्रस्ताव गरिएका ११ वटा मानवीय अभियान मध्ये ६ वटा मात्र पूर्णरूपमा सम्पन्न भएका थिए ।
बाँकी मध्ये केही अभियान लामो समयसम्म रोकिएपछि आंशिक रूपमा मात्र सफल भएका थिए । ती अभियानमा खानेपानी तथा सरसफाइ सामग्री सङ्कलन, इन्धन आपूर्ति, चिकित्सकीय उद्धार, राफाह नाका हुँदै आवतजावत तथा बिरामीलाई नासेर अस्पतालसम्म पुर्याउने कार्य समावेश थिए । रासस/सिन्ह्वा