देवराम यादव
सप्तरी, माघ २४ गते । सप्तरीको रुपनी गाउँपालिका–६, दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । वनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको 'रकेट' जस्तो देखिने वस्तुलाई खेलौना ठानेर दाउरासँगै जम्मा गरी राखेका थिए । चुल्हो नजिक राखिएको सो वस्तु अचानक विस्फोट भएको हो ।
खोलामा वनभोज खान गएका स्थानीय बालक बम विस्फोटको छर्रा लागेर घाइते भएका हुन् । घाइते हुनेमा रुपनी गाउँपालिका–६ का साजन आले मगरका ११ वर्षीय छोरा साहस मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक रहेका छन् ।
घाइतेमध्ये साहस र प्राशिसको पैतालामा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेको छ । कविर र सुरजको पनि शरीरका विभिन्न भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।
उहाँका अनुसार बालकहरूले भेटेको शङ्कास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको छ । “वनभोज खान गएका बालकले रकेट जस्तो देखिने वस्तु भेटेका र सोही वस्तु विस्फोट भएको प्रारम्भिक जानकारी आएको छ,” प्रहरी नायब उपरीक्षक पुरीले भन्नुभयो । उहाँले घाइते बालकहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जानकारी दिनुभयो ।