शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
संयुक्त राष्ट्र सङ्घ, माघ २४ गते । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गर्नु भएको छ ।
उहाँका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितको परिवारप्रति समवेदना प्रकट गर्नु भयो । महासचिवले नागरिक र उपासना स्थललाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिलाई पहिचान गरी न्यायको दायरामा ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।
त्यसै गरी, घाइते भएका व्यक्तिको छिटो र पूर्ण स्वास्थ्य लाभको कामनासमेत महासचिवले व्यक्त गर्नु भयो । विज्ञप्तिमा विश्व सङ्घले आतङ्कवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एक जुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ । रासस/सिन्ह्वा