काठमाडौँ, माघ २४ गते । ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको छ ।
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम हुनुभयो । त्यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम हुनुभएको निर्देशनालयले जनाएको छ ।
‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्रछात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।
त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती सङ्घकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । रासस