नारद कोहार
तौलिहवा(कपिलबस्तु), माघ २४ गते । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले नियमित एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानको तयारीस्वरूप जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
एच.पी.भी. खोप अभियान यही माघ २५ गतेदेखि २९ गतेसम्म जिल्लाका सबै पालिकामा एक चरणमा सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियान अन्तर्गत जिल्लाभर जम्मा ८ हजार ३२९ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । उक्त खोप कक्षा ६ मा अध्ययनरत ७ हजार ४५२ छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ९७७ किशोरीलाई लगाइने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले कोभिड–१९ अघि खोप लगाउन चुनौतीपूर्ण अवस्था रहे पनि कोभिडपछि जनचेतना उल्लेख्य रूपमा वृद्धि भएको बताउनुभयो । उहाँले खोप सम्बन्धी नकारात्मक सूचनालाई न्यूनीकरण गर्न सञ्चारकर्मी र स्थानीय समितिहरूसँग सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । “एच.पी.भी. खोप अत्यन्त महँगो भएपनि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ, महिलालाई पाठेघरसम्बन्धी रोगबाट जोगाउन यो अभियान अत्यन्त महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एच.पी.भी. खोप अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । गत वर्ष जिल्लामा लक्ष्यको ९४ प्रतिशत खोप लगाइएको उल्लेख गर्दै उहाँले यस वर्ष सत प्रतिशत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लाभर सरकारी, निजी तथा धार्मिक विद्यालयसहित ३५१ खोप केन्द्र तोकिएको छ । अभियान सञ्चालनका लागि ७ सय २ जना स्वास्थ्यकर्मी र ३५१ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका मुख्य खम्बा, खोप कार्यक्रमका चुनौती, पाठेघरको मुखको क्यान्सरको विश्व तथा राष्ट्रिय अवस्था, एच.पी.भी. सङ्क्रमण सर्ने माध्यम र खोपको महत्त्वबारे जानकारी गराइएको थियो । खोपसम्बन्धी विभिन्न तथ्याङ्कहरूको प्रस्तुति खोप फोकल पर्सन केदारनाथ शाहले गर्नुभएको थियो ।