• २४ माघ २०८२, शनिबार

सत्यवतीमा ३७५ को आँखा जाँच, २६ जनाको निःशुल्क शल्यक्रिया

blog

सत्यवतीमा मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), माघ २४ गते । गुल्मीको सत्यवती गाउँपालिका २६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको आयोजनामा जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने आँखा उपचार तथा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको हो । 

शिविरमा ३७४ जना आँखाका बिरामीहरूको परीक्षण र उपचार गरिएको थियो । 

शिविरमा मोतियाविन्दुको समस्या भएका २६ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सत्यवती गाउँपालिकाका स्वास्थ्य संयोजक हिमलाल भण्डारीले जानकारी दिनुभयो । शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवामा कार्यरत नेत्र रोग विशेषज्ञ डाक्टर बेबीका फुयालसहित जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका प्राविधिक टोलीले बिरामीको आँखा उपचार तथा शल्यक्रिया गरेको भण्डारीले बताउनुभयो । 

कार्यक्रममा सत्यवती गाउँपालिकाका प्रमुख टीकाराम पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल, जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष विष्णुप्रसाद भण्डारी, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेय, सचिव पदमप्रसाद पाण्डे, नेत्ररोग विशेषज्ञ डाक्टर बेबीका फुयालसहित सरोकारवालाको सहभागीता रहेको थियो ।

सत्यवती गाउँपालिकाले हरेक वर्ष नेपाल नेत्रज्योति सङ्घ गुल्मीसँगको सहकार्यमा शल्यक्रिया शिविर आयोजना गर्दै आइरहेको छ भने मासिक रूपमा सदरमुकाममा हुने शल्यक्रिया शिविरमा आफ्ना पालिकाका नागरिकहरूको मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि नेपाल नेत्रज्योति सङ्घ गुल्मीसँग सम्झौता समेत गरेको छ ।

शल्यक्रियाका लागि नेपाल सरकार र सत्यवती गाउँपालिकाको आर्थिक सहयोग रहेको नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मीका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।