• २४ माघ २०८२, शनिबार

उत्तरी गोरखाको लाप्राकमा मकैको बिहे

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकमा स्थानीय मकैको बिहेमा रमाउँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, माघ २४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकमा मकै विवाह सम्पन्न भएको छ । बिहे नगरीकन मकै रोप्न हुन्न भन्ने पहिलेदेखि चल्दै आएको धार्मिक र सांस्कृतिक मान्यतका साथ हरेक वर्ष जस्तै यस वर्षको शनिबार पनि धुमधामका साथ मकै विवाह भएको हो । 

ज्योतिषले लगन दिए अनुसार माघ शुल्क पूर्णिमाको दिन पारेर मकै बिहे गरिएको छ, स्थानीय डिल बहादुर गुरुङले भन्नुभयो, ‘मकैको बिहे गरेपछि मात्र बारी खन्ने, जोत्ने र मकै रोप्ने काम सुरु हुन्छ, मकैको उब्जनी राम्रो होस्, कुनै पनि रोग नफैलियोस् र असिना पानीले नष्ट नगरोस् भनेर मकै विवाह गर्ने सयौँ वर्षदेखि चलन रहिआएको छ ।’

माघ शुल्क पूर्णिमाको दिन पारेर मकै विवाह गरिएको हो । विवाहको अघिल्लो दिन केहि थान घोगा मकै जमिनमा गाडेर राख्ने चलन रहेको छ । विवाहको दिन बिहानै देखि गाउँभरिका मानिस लाप्राकाको ठुलो आँगनमा जम्मा भएर एक जना बालकलाई डोलीमा राखेर ढ्याङग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् । 

ऐतिहासिक तथा पर्यटकिय गन्तव्यको केन्द्रमा रहेको लाप्राकको ठुलो आँगनबाट मनिडाँडा हुँदै केहि पर जङ्गलमा बेहुलीका लागि बनाएको सानो झुप्रो घरमा कन्या राखेको ठाउँमा जन्ती पुग्छन् र जन्तीले ती कन्यालाई लिएर पुन बाजागाजा सहित लाप्राक गाउँभरि नै परिक्रम गर्छन् । 

जन्ती जाँदा लगेको एक एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यस मकैलाई गोबर, तितेपाती र सुनापानीले चोख्याउने चलन छ । यहि मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोप्ने लाप्राक–४ वडाध्यक्ष किसान गुरुङको भनाइ छ । 

लाप्राकको प्रख्यात ठुलो आँगनमा पुगेपछि नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ अबेरसम्म घाटु नाचसँगै मकै विवाह समापन गरिने प्रचलन रहेको छ । यो लाप्राकमा सबैभन्दा पुरानो परम्परा हो । 

यसपछि मात्र मकैको बाली लगाउन सुरु हुन्छ । बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता रहेको छ । हरेक वर्ष माघ १५ देखि फागुन १५ सम्म लगन जुराएर मकै विवाह गर्ने लाप्राकवासीको प्रचलन रहिआएको छ । 

स्थानीय डिलबहादुर गुरुङले वर्षको एकपटक माघ शुल्क पूर्णिमाको दिनमा मनिका देवी मन्दिरमा सिङ्गो लाप्राकवासीले पूजापाठ गरेर तीन वटा बोकाको बली दिने पनि पुरानो प्रथा रहिआएको उहाँले बताउनुभयो ।