अमरराज नहर्की
तनहुँ, माघ २४ गते । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२, पसेलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ग. २ च. ९४९४ नम्बरको स्कर्पियोले पैदलयात्रीलाई ठक्कर दिँदा व्यास नगरपालिका–२, बालमन्दिर स्थायी घर भएकी ५२ वर्षीया जीवनमाया विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकले दिनुभएको जानकारी अनुसार म्याग्दे–२, पसलेस्थित आफन्तको घरमा गएर फर्कने क्रममा आज बिहान करिब ९ः२० बजे उहाँलाई स्कर्पियोले ठक्कर दिएको थियो ।
ठक्करबाट विकको अनुहार, पेट र दुवै हातखुट्टामा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याएर चिकित्सकले जाँच गर्ने क्रममा बिहान १०ः३५ बजे उहाँलाई मृत घोषणा गरेको सूचना अधिकारी विकले बताउनुभयो । प्रहरीले ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।