• २४ माघ २०८२, शनिबार

थारू परिकारले फस्टाउँदै रिर्सोट

blog

घोराही-१६, स्यानिअम्बापुरस्थित कबिला रिर्साेट । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, माघ २४ गते । पछिल्लो समय थारू परिकारका रिसोर्ट र होटलहरू फस्टाउँदै गएका छन् । कुनै समय गाउँघरमा सीमित रहने थारू परिकार अहिले सहरका होटल र रिसोर्टमा लोकप्रिय बन्दै गएका छन् । परम्परागत थारू परिकारलाई व्यावसायिक रूपमा प्रस्तुत गर्न थालेपछि यी रिसोर्ट र होटलहरू नाफामुखी व्यवसायका रूपमा विस्तार हुन थालेका हुन् ।

घोराही उपमहानगरपालिका–१६, स्यानिअम्वापुरस्थित कबिला रिसोर्टमा हाल थारू परिकारको स्वाद लिन आउने ग्राहकको सङ्ख्या दिनानुदिन बढ्दै गएको रिसोर्टका प्रबन्ध निर्देशक विकास चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा ढिक्री, अनदी चामलको रोटी, स्थानीय भालेको मासु, हाँसको छोइला, बङ्गुरको मासुका पक्वा र ग्रेभी, कट्नैसी, माछाका परिकार, घोंगी, गँगटा लगायत थारू रैथाने परिकार बन्ने गर्दछ । “हाम्रो रिसोर्टमा थारू परिकार नै मुख्य ब्रान्ड बनेको हो, उहाँले भन्नुभयो, यसकै कारण रिसोर्ट पनि राम्ररी सञ्चालन भइरहेको छ ।” उहाँका अनुसार आगन्तुकले थारू परिकारसँगै अन्य परिकार पनि मन पराइरहेका छन् । “हामीले थारू परिकारलाई प्राथमिकता दिएर अन्य विविध आइटम पनि तयार गर्छौं । तर, यहाँको पहिचान भनेकै थारू परिकार हो,” उहाँले भन्नुभयो।

बजारभन्दा सस्तो र स्वादिष्ट परिकार पाइने भएकाले पनि धेरैको रोजाइमा परेको रिसोर्टमा हाल अन्य सेवा विस्तार पनि गरिएको छ । उहाँका अनुसार सुरुआतमा केवल खानाको सेवा उपलब्ध थियो, अहिले वासको पनि व्यवस्था गरिएको छ । साथै बैठक, गोष्ठी, सभा र सम्मेलन गर्नका लागि सेमिनार हलसमेत निर्माण गरिएको छ । 

घोराहीबाट झन्डै चार किलोमिटर टाढा रहेको कबिला रिसोर्टमा साँझ–बिहानको खानासँगै गाउँको झल्को दिने गरी छुट्टाछुट्टै कटेज निर्माण गरिएको छ । रिसोर्टमा थारू परिकारसँगै समयसापेक्ष रूपमा थारू सांस्कृतिक प्रस्तुति पनि गराइन्छ । “हामीले परिकारलाई व्यावसायिक बनाउँदा कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा पनि योगदान पुगेको छ, उहाँले भन्नुभयो, यसले स्थानीयलाई रोजगारीका अवसर पनि सिर्जना गरेको छ ।” उहाँका अनुसार रिसोर्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २५ जनाले रोजगारी पाएका छन् । 

यस्तै चाडपर्वका अवसरमा कलाकार समूहले एक घण्टा नृत्य प्रस्तुति दिएबापत पाँच हजार रुपियाँ पारिश्रमिक पाउने गर्छन् । साथै, अन्य प्रस्तुति अनुसार अतिरिक्त पारिश्रमिक पनि दिइने गरिएको उहाँले बताउनुभयो । ३० लाख लगानीा सुरु भएको रिसोर्ट हाल सात वर्षको अवधिमा झण्डै सात करोड रुपियाँभन्दा बढी लगानी भइसकेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिनुभयो ।

“२० जना युवाले मिलेर ३० लाख जुटाएका थियौं । अहिले निरन्तर लगानी र आम्दानी गर्दै जाँदा सात करोड पुगिसकेको छ,” उहाँले भन्नुभयो । कबिला हस्पिटालिटी ग्रुपका अध्यक्ष कुलवीर चौधरीका अनुसार थारू समुदायलाई व्यवसायमा सहभागी गराउने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको हो । “हाम्रो मूल उद्देश्य थारू समुदायलाई उद्यममा जोड्ने हो । अहिले नाफाघाटा भन्दा पनि सामुदायिक सहभागिता र सशक्तीकरणमा ध्यान केन्द्रित गरेका छौं,” उहाँले बताउनुभयो । रिसोर्ट सञ्चालनसँगै थारू समुदायको आर्थिक सशक्तीकरण, गाउँघरमा रोजगारी सिर्जना र रैथाने उत्पादनको प्रवर्धनमा सकारात्मक प्रभाव परेको अध्यक्ष चौधरीको भनाइ छ ।