राधा लुइटेल
फिदिम, माघ २४ गते । पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ ।
जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभूत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अभियान विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ कार्यालय पाँचथरले जानकारी दिएको छ ।
खोप लगाउन माघ २७ देखि २९ गतेसम्म गतेसम्म विद्यालय केन्द्रित अभियान चलाइने अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले जानकारी दिनुभयो । यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरू बताँउछन् ।
नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग न्यूनीकरणका लागि अभियान चलाउने घोषणा गरेसँगै पाचथर जिल्लाले किशोरीहरूलाई यो खोप दिन लागेको हो । खोप विद्यालय र तोकिएका केन्द्रमा गएर दिइने बताइएको छ ।
अभियानका लागि महिला स्वास्थ्यकर्मी र स्वयंसेवक खटाइने छ ।