• २४ माघ २०८२, शनिबार

रुकुमपूर्वमा पाँच सय ८१ किशोरीलाई एचपिभी खोप दिइने

blog

एचपिभी खोप लगाउनेसम्बन्धी जानकारीका लागि जिल्ला स्तरीय बैठक । तस्बिर : जयमान बुढागमर

जयमान बुढामगर
रुकुमपूर्व, माघ २४ गते ।
रुकुमपूर्वका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) यही माघ २५ गतेदेखि दिइँदै छ । जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइन लागेको हो ।

यो खोप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेकामध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीलाई दिइने स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत किशोरीको संस्था एक सय २१ र विद्यालय बाहिरका दुई जना गरी दुई सय २३ जना, भूमे गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत किशोरी एक सय ७३ र विद्यालय बाहिर आठ गरी एस सय ८१ र पुथाउत्तरगङ्गा गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत एक सय ७७ गरी जिल्लाबाट पाँच सय ८१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख आचार्य बताउनुभयो ।

तीन वटै गाउँपालिकामै १८-१८ वटा खोप केन्द्रबाट एचपिभी खोप लगाइँदै छ । सञ्चार माध्यम, गाउँपालिका, स्वास्थ्य संस्था र विद्यालय लगायत विभिन्न माध्यममार्फत एचपिभी खोप लगाउनेबारे जानकारी दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियानलाई प्रभावकारी गर्नुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । सरकारले उपलब्ध गराउने खोप ज्यान सुरक्षाका लागि एकदम महत्त्व रहेकाले खोप लगाउन आम अभिभावक, विद्यालय, स्वास्थ्य संस्था लगायत सबैले किशोरीलाई खबर गर्नुहुन केसीले आग्रह गर्नुभयो ।

खोपले स्वास्थ्य सुरक्षा गर्ने भएकोले ढुक्क भएर खोप लगाउनु हुन सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक गौतमले खोप लगाउन नछुटाउन सबै विद्यालय र अभिभावकलाई जानकारी गरिसकेको बताउनुभयो ।