• २४ माघ २०८२, शनिबार

जिल्लामा आचारसंहिताको उल्लङ्घन

blog

निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको भन्दै निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीलाई ध्यानाकर्षण पत्र बुझाउँदै । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, माघ २४ गते ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको सङ्घका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

जिल्लाका विभिन्न स्थानहरूमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरूबाट आचारसंहिता विपरीत गतिविधिहरू भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवम् निजी घरहरूमा तोकिएको मापदण्ड विपरीतका ठुला व्यानर र झण्डाहरूको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।

यस्तै प्रचार–प्रसारका नाममा ठुला–ठुला साउन्ड सिस्टम, माइक लगायतको प्रयोगले ध्वनि प्रदूषण भइरहेको तथा त्यसले जनजीवन प्रभावित पारेको पत्रमा उल्लेख छ ।

नेविसंघले ध्यानाकर्षणपत्र बुझाए लगत्तै अनुगमनको क्रममा निर्वाचन अनुगमन टोलीले राजविराजस्थित गजेन्द्र चाेकमा बसमा भुण्ड्याइएको उज्यालो नेपाल पार्टीको ब्यानर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आफैँ निकालेका छन् । यस्तै सोही स्थानामा एक स्कारपियोबाट जसपा नेपालको झण्डा र ब्यानर समेत हटाउन लगाइएको छ । सोही स्थानबाट निर्वाचन अनुगमन टोलीले एक गाडीबाट रास्वपाको झण्डा समेत हटाउन लगाएको छ ।

यता निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि खुला रूपमा प्रचार प्रसारका साथै झण्डा, तुल, पर्चा, पम्प्लेट वितरण तथा टास गर्न भनेको छ । तर अहिले जिल्लामा व्यापक रूपमा आचारसहिताको उल्लङ्घन भइरहेको गुनासो आएपछि अनुगमन समितिले आचारसहिता पालना गर्न गराउन सक्रियताका साथ लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।